© २०२३
चन्द्रौटा, १७ असार ।
एक समय भैँसी डुब्ने आहाल मात्र भएको बृजा ताल–अहिले कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नम्बर–९ मा आशाको जलकुण्ड बन्न थालेको छ । सुन्दर पक्की किनारा, सफा पानी, र पानीमा तैरिरहेका माछाकासँगै छन् । केही किसान, केही युवा: “अब विदेश जाने सोच हटेको छ, गाउँमै भविष्य खोज्न थालेका छौँ ।” बृजा ताल मात्र होइन, बुद्ध भूमि नगरपालिकाका अरू सामुदायिक तालहरू पनि अहिले स्वरोजगार र जीवनयापनको नयाँ केन्द्र बन्दै छन् । १ करोड ६७ लाख रुपैयाँको घुम्ती कोषले स्थानीयलाई रोजगारी र आम्दानीका गर्ने बाटो खोलिदिएको छ ।

बुद्ध भूमि नगरपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्रसँग सहकार्य गरेर समुदायका लागि यो घुम्ती कोष स्थापना गरेको हो । युवा विदेश नपठाई गाउँमै आयआर्जनको स्रोत तयार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले यो योजना आय मात्रै होइन, आत्मसम्मानसँग जोडिएको बताए । उनले भने: “पानी, माछा, ताल—यी सबै स्थानीयको हक हो, अब त्यसलाई रोजगारीमा बदल्ने बेला आएको छ । ताल निर्माण, माछा भुरा, दाना, संरचना—सबैमा कोषको सहयोग पुगेको छ । समुदायले पाँच वर्षभित्र फिर्ता गर्नुपर्ने सर्त छ । र पनि स्थानीयको जोस उच्च छ ।”
१३.२ हेक्टर क्षेत्रफलमा फैलिएको बृजा तालमा हालसम्म ४९ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । ताल वरिपरि पक्की संरचना बनाइएको, माछा पालनका लागि भुरा र दाना किनेको छ । हरियाली सामुदायिक वन समूहकी अध्यक्ष मिना थारुले भनिन्ः “हामीले ३१ लाख रुपैयाँ फिर्ता गरिसक्यौं । तर तालको सम्भावना अझै ठुलो छ । स्रोत जुटे भविष्य अझ उज्यालो हुन्छ ।” त्यस्तै तिनघरवा तालमा ३६ लाख, बुड्डी तालमा ३० लाख, र मैटहवा तालमा १६ लाख रुपैयाँ लगानी भएको छ ।
योजनाको उज्यालो पाटोसँगै केही चुनौतीहरू पनि छन् । पानीको स्रोत सुनिश्चित छैन । तालहरूमा बोरिङ नहुनु र वर्षामा भर पर्नु दीर्घकालीन समाधान होइन । जिसस कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले तालहरूले खेतमा सिँचाइ, भूमिगत जल र वन्यजन्तु संरक्षणमा टेवा दिएको बताए । तर तालहरूलाई दीर्घकालीन बनाउन प्रविधिमा लगानी गर्नु आवश्यक रहेको उनले जनाए । त्यस्तै, माछा दाना खरिदमा स्रोतको अभाव उत्पादनमा प्रभाव पारिरहेको छ । डा. प्रवेज आलमका अनुसार दाना समयमै नपुग्दा माछाको वृद्धिमा असर पर्छ, जसले उत्पादन घटाउँछ ।
कार्यक्रम संयोजक सुनिता टण्डनले गाउँमा बसेर आय गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले अनुदान, सहुलियत ऋण र ताललाई व्यावसायिक मोडलमा लैजाने हो भने माछा पालन गाउँको मेरुदण्ड हुन सक्ने बताए । जसले गर्दा स्थानीय स्तरमै रोजगारीको अवसरसँगै आर्थिक रूपमा समेत आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
यस घुम्ती कोषको रकम द च्यारीटेबल फाउन्डेसन, अस्ट्रेलियाबाट प्राप्त भएको हो । हालसम्म ११ सयभन्दा बढी घरधुरी यस परियोजनाबाट लाभान्वित भइसकेका छन् । बृजा, तिनघरवा, बुड्डी र मैटहवा ताल—यी अब पानीको भण्डार मात्र होइनन्, आम्दानीका स्रोत पनि हुन् । विदेश जानु नपर्ने विश्वास, गाउँमै सम्भावना खोज्ने आँट बढेको स्थानीय युवा संजय थारुको भनाइ छ ।