© २०२३
गुल्मी, १७ असार ।
गुल्मीमा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको वडा –१ को नयाँ गाउँलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले जिल्लामा पहिलो पटक उक्त वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन ।
घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्र मानव विकास सम्भव नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा बालमैत्री कार्यक्रमहरूमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा गाउँपालिकाको तर्फबाट वडा कार्यालयलाई रु. एक लाख नगद सहित सम्मान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष पोख्रेलले बालमैत्री स्थानीय शासन लागू गर्नु चुनौतीपूर्ण काम भए पनि पालिकाले यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रदेश तथा सङ्घ सरकारले शिक्षा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको लगानी पर्याप्त नरहेको टिप्पणी गरेका थिए ।
वडा कार्यालयले ५१ वटा आवश्यक सूचकहरू पुरा गरेपछि मात्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी, शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै वडाको यो उपलब्धि निकै सराहनीय भएको बताएका थिए ।
वडा कार्यालयको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा वडाध्यक्ष चेतमान कुँवरले सबैको निरन्तर मेहनत र सहयोगले जिल्लाका ९३ वडाहरू मध्यमा धुर्कोटको नयाँ गाउँ पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएको भन्दै वडावासीहरूका लागि यो खुसीको खबर भएको बताए ।
कार्यक्रममा गाउँपालिका वडाध्यक्षहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा गीत, सडक नाटक एवं नृत्यहरू प्रस्तुत गरिएको थियो । सोही अवरमा वडा कार्यालयले विभिन्न विद्यालयका शिक्षक तथा सङ्घ संस्थाहरूलाई समेत सम्मान गरेको थियो ।