Butwal Today

निजामती विधेयकमा हेरफेर गम्भीर अपमान हो : अध्यक्ष लिङदेन

१७ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजामती सेवा विधेयकको दफामा गरिएको हेरफेरप्रति गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयकमा संसद्को निर्णय विपरीत परिवर्तन गरिएको भन्दै उनले यसलाई संसद् र सांसदहरूको अपमान भनेका छन्।

संसद्बाट सर्वसम्मत पारित भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडछाड भएको सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले भने, “निजामती सेवा विधेयकको सबैभन्दा बढी छलफल भएको र सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन। यो संसद् र सांसदको अपमान हो।”

उनले विधेयकमा गरिएको हेरफेरलाई गम्भीर विषयको रूपमा लिएर छानबिन आवश्यक रहेको बताए। “यो विषय सामसुम पार्न मिल्दैन,” उनले स्पष्ट रूपमा भने, “यसमा गम्भीर छानबिन हुनु आवश्यक छ।”

विधेयकको आधिकारिकता, प्रक्रिया र पारदर्शितामाथि उठेको प्रश्नले संसद्को गरिमा र विधिक शासनमाथि गम्भीर चुनौती खडा भएको भन्दै उनले सरकार र संसद् नेतृत्वसँग जवाफदेहीको माग गरेका छन्।