© २०२३
काठमाडौं ।
थाईल्यान्डकी प्रधानमन्त्री पेटोंगटन सिनावात्रालाई मंगलबार पदबाट निलम्बन गरिएको छ। कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको विवादास्पद फोनकलका कारण उनीमाथि आचारसंहिताको उल्लंघन गरेको आरोप लागेको हो। संविधान अदालतले उनीविरुद्ध छानबिन सुरु गरेसँगै प्रधानमन्त्रीको कार्यसम्पादनमा रोक लगाइएको छ।
३८ वर्षीया पेटोंगटनले १० महिनाअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। तर, राष्ट्रहित विपरीत भनिएको फोन संवादले उनको नेतृत्व संकटमा पारेको छ। संविधान अदालतमा पेश भएको ३६ जना सांसदहरूको निवेदनपछि उनीमाथि कारबाही प्रक्रिया अगाडि बढेको हो।
फोन संवादमा उनले हुन सेनलाई ‘काका’ भनी सम्बोधन गर्दै आफ्नै देशको सेनाप्रति आलोचनात्मक अभिव्यक्ति दिएकी थिइन्। यसले थाइल्यान्डभित्र राष्ट्रघाती व्यवहारको आरोप ल्याएको छ।
यद्यपि, मन्त्रीपरिषद्को फेरबदलपछि उनी संस्कृति मन्त्रीको भूमिकामा भने कायम रहने जनाइएको छ।
यो विवादसँगै सरकारको प्रमुख साझेदार भुमजैथाई पार्टीले सत्ता गठबन्धन त्यागेको छ। यसले प्रधानमन्त्री पेटोंगटनको फेउ थाइ पार्टीको बहुमत कमजोर बनाएको छ। राजधानी बैंककमा विरोध प्रदर्शन भइसकेको छ भने संसद्मा अविश्वास प्रस्ताव पेस हुने तयारीमा छ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री पेटोंगटनले घटनाबारे स्पष्टिकरण दिँदै भनिन्, “यो फोनकल शान्ति स्थापनाका लागि गरिएको थियो। मेरो मनसाय देशको हितमा थियो।” तर आलोचकहरू यो दाबीलाई स्वीकार गर्न तयार देखिँदैनन्।
थाईल्यान्ड र कम्बोडियाबीचको ८१७ किलोमिटर लामो सीमा विगतमा बारम्बार तनावको स्रोत रहँदै आएको छ। पछिल्लो समयमा भएको झडपमा एक क्याम्बोडियन सैनिकको मृत्यु भएपछि अवस्था अझ संवेदनशील बनेको छ। राजनीतिक र संवैधानिक संकटमा फसेकी पेटोंगटनको भविष्य अब संविधान अदालतको अन्तिम फैसलामा निर्भर रहनेछ।