Butwal Today

कांग्रेसको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी

१७ असार २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो।

सोमबार सुरु भएको बैठकमा पार्टी महामन्त्री गगन थापाले १३ बुँदे एजेन्डा प्रस्तुत गरेका थिए, जसमा कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको मूल्याङ्कनदेखि भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप र विधान संशोधनको प्रस्तावसम्म समेटिएको छ।

पेस गरिएका एजेन्डाहरूमा क्रियाशील सदस्यता नविकरण र वितरण, जनसम्पर्क समितिमा दुई तहको सदस्यता व्यवस्था गर्न विधान परिमार्जन प्रक्रिया सुरु गर्ने प्रस्ताव, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन गर्ने योजना र समसामयिक राजनीतिक प्रसङ्गहरू पनि रहेका छन्।

बैठकमा ती एजेन्डा अनुसार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको एक नेताले जानकारी दिए। सभापति देउवाले छलफललाई व्यवस्थित ढंगले अघि बढाइरहेको बैठक स्रोतको भनाइ छ।

पार्टीभित्रको सांगठनिक सुधार, आन्तरिक लोकतन्त्र बलियो बनाउने र आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले यो बैठकलाई महत्वपूर्ण मानिएको छ।