© २०२३
काठमाडौँ ।
मलेशियामा जारी एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ। मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३५८ रन बनायो।
नेपालका रौनक श्रीवास्तवले उत्कृष्ट शतकीय प्रदर्शन गर्दै १३२ बलमा १६८ रन बनाए। उनलाई जोय थापाले सघाउँदै अविजित ६१ रनको योगदान दिए। सिवान्स बजगाईँले ५४ र सुगम बूढाथोकीले ३५ रन बनाए। भुटानका बलर सन्जय डोर्जीले ३ विकेट लिए भने तेन्जिन लोडे जमत्सोले १ विकेट झारे।
यसअघि नै नेपाल समूह ‘ए’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। समूह ‘ए’ का चार खेलमा तीन जितसहित ६ अंक बनाउँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ। नेपालले यसअघि सिङ्गापुरलाई ६ विकेट, जापानलाई ९ विकेट र इन्डोनेसियालाई ४२१ रनले हराएको थियो।
समूह ‘बी’ बाट आयोजक मलेशिया र हङकङ सेमिफाइनलमा पुगेका छन्। प्रतियोगितामा कुल १० टोली सहभागी छन् — समूह ‘ए’मा नेपाल, सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् भने समूह ‘बी’मा मलेशिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार। सेमिफाइनल खेलहरू पर्सि बिहीवार (असार १९ गते) हुनेछन् भने फाइनल खेल असार २१ गते शनिवारका लागि तय गरिएको छ।