© 2026
काठमाडौं ।
विद्यालय शिक्षा विधेयकका विषयमा भइरहेका छलफलमा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति विना टुंगिएको छ। विवादको केन्द्रमा रहेको विषय शिक्षक पदपूर्ति प्रक्रिया हो। मन्त्रालयले प्रस्ताव गरेको ६०% आन्तरिक र ४०% खुला प्रतिस्पर्धाको फारमुलालाई शिक्षक महासंघले अस्वीकार गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन। उल्टो महासंघले ठीक उल्टो फारमुला — ६०% खुला र ४०% आन्तरिक प्रतिस्पर्धा माग गर्दै वार्ता छाडेर बाहिरिएको छ।
वार्तामा सहभागी शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी नेतृत्वको टोलीले मन्त्रालयको प्रस्तावमा गम्भीर आपत्ति जनाएका थिए।
यसैबीच, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक पनि मन्त्रालय-शिक्षक महासंघबीच सहमति नभएपछि स्थगित गरिएको छ। बिहान ८ बजेका लागि तय बैठक दिउँसो २ बजे सारिएको थियो, तर सहमति नजुटेपछि बैठक सुरु हुन सकेको छैन।
शिक्षा विधेयक अगाडि बढाउने मन्त्रालयको योजना भने महासंघसँग सहमति जुटेपछि मात्र समिति हुँदै प्रतिनिधि सभामा लैजाने हो। त्यहाँबाट विधेयक संसदको परिपूर्ण प्रक्रियाबाट गुज्रिनेछ – प्रतिनिधि सभा, राष्ट्रिय सभा, संशोधन भए पुनः प्रतिनिधि सभा, र अन्ततः राष्ट्रपतिबाट प्रमाणीकरण गरी ऐनमा रूपान्तरण गरिनेछ।
यस विधेयकसँग सम्बन्धित निजी विद्यालयको व्यवस्थापन, ईसीडी (बाल विकास केन्द्र), र शिक्षकहरूको मागसम्बन्धी प्रावधानलाई लिएर अहिले छलफल अत्यन्तै संवेदनशील र पेचिलो चरणमा पुगेको छ।