© २०२३
काठमाडौँ ।
सशस्त्र प्रहरी बल, नेपालमा ठूलो संख्यामा पदोन्नति गरिएको छ। सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म गरी जम्मा २,१९६ जना सशस्त्र प्रहरीहरू बढुवा भएका छन्। सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)मा ११ जना, नायव निरीक्षक (सई)मा ३४ जना तथा लेखा उपसमूहतर्फ सईमा ६ जनाको बढुवा गरिएको हो।
त्यस्तै गरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना पदोन्नति भएका छन्। बढुवा प्रक्रिया अन्तर्गत मुख्यालयले जेठ १९ गते सूचना जारी गरी सशस्त्र प्रहरी सेवा साधारण समूह र लेखा उपसमूह अन्तर्गतका विभिन्न तहका पदहरूमा बढुवाका लागि योग्य उम्मेदवारलाई आवेदन दिन भनेको थियो।
वरिष्ठ सई र सईका लागि १० दिनभित्र आवेदन फाराम बुझाउन भनिएको थियो भने वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दारका लागि १५ दिनको समय दिइएको थियो। आवेदन दिएपछि करिब एक महिनाको अवधिमा बढुवाको निर्णय गरिएको हो।
उम्मेदवारले बढुवा मूल्यांकन फारम भरी आवश्यक शैक्षिक योग्यता र प्रमाणपत्रका प्रतिलिपिसमेत संलग्न गरेर बढुवा समितिको सचिवालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको थियो। सहप्रवक्ता थापाका अनुसार, हाल खाली रहेका अन्य दर्जाहरूमा पनि चाँडै बढुवा प्रक्रिया सुरु गरिनेछ।