© २०२३
बुटवल, १६ असार ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । पाँच वर्षे आयोजनालाई तीन वर्षमै सक्ने गरी निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो ।
मुलुकमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बन्ने उद्देश्यसाथ निर्माण भइरहेको यो भवनले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको हो । निर्माण कार्यको जिम्मा लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । यो निर्माण सुरु भएको करिब चार महिना अवधिको तथ्याङ्क हो ।
मुख्य संरचना बेसमेन्टसम्म तयार, क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलले हालसम्मको कार्ययोजना र प्रगति तुलना गर्दा काम निर्धारित ढाँचामा अघि बढेको बताए । आयोजनाको प्रगतिबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक संकट नभएमा यो आयोजना सम्झौता भएको समयभन्दा अघि नै सम्पन्न हुने दाबी गरे ।
पाँच वर्षभित्र ६ अर्ब १८ करोडको परियोजना
सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । वि.सं.२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद (२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
१२ सय बेड, एकीकृत विशेषज्ञ सेवा
नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको थियो । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ । यसको सुपेरीवेक्षण समेत निरन्तर भइरहेको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् ।
अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिक सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ ।
निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा विभिन्न कार्यमा खटिएका छन् । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले उनीहरुले रातिमा समेत सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम गरिरहेको बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार अहिले जनरल मेडिसिन, न्यूरो मेडिसिन, कार्डियोलोजी, सर्जरी, अर्थोपेडिक, प्लास्टिक सर्जरीलगायत १७ भन्दा बढी विभागीय सेवा, साथै प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, ईईजी र इकोकार्डियोग्राम लगायत परीक्षण सेवाहरू सञ्चालनमा छन् । हाल अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी, साथै सरकार र विकास समितिबाट सयौं कर्मचारी कार्यरत छन् ।
पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले यो अस्पतालको स्तरोन्नती भएपछि स्वास्थ्य क्षेत्रमा यस क्षेत्रमै कायापलट हुने भन्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्नु बुटवलबासीको दायित्व भएको बताए ।