© २०२३
काठमाडौं ।
सभामुख देवराज घिमिरेले असार मसान्तभित्र आर्थिक विधेयक पारित गर्नैपर्ने बाध्यता रहेको भन्दै, आवश्यक परे पेलेरै भए पनि संसद् चलाउनुपरेको प्रस्ट पारेका छन्।
संसद् दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले संसदमा भइरहेका विरोध, अवरोध र असहयोगका बीचमा पनि संख्या जोडेर, जबरजस्ती भए पनि विधि र प्रक्रिया अनुसार संसद् चलाइएको स्पष्ट गरे।
उनका अनुसार, संसद्को काम कारबाही सञ्चालनमा अवरोध सिर्जना हुँदा नीति र कानुन निर्माणको प्रक्रिया प्रभावित भइसकेको छ। उनले सरकार र प्रतिपक्ष दुवैको दायित्वमा प्रश्न उठाउँदै भने, “बजेट अधिवेशनमा आग्रह, पूर्वाग्रह, अवरोध हुँदा पनि हामीले जबरजस्ती गरिरहेका छौँ। यो ठिक हो कि बेठिक? यसरी चलाउन हुन्छ कि हुँदैन? दायित्व को हो भनेर सोच्न जरुरी छ।”
सभामुख घिमिरेले बजेट सरकारको नीतिमा आधारित हुने बताउँदै, संसद् मात्र होइन, संसदीय व्यवस्था र प्रणाली नै चुनौतीमा परेको धारणा राखे। “संसद्को प्रभावकारिता मात्रै होइन, पूरै व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ,” उनले भने, “जनताको प्रतिनिधि भएर कानुन बनाउने र शासनको जग बसाउने ठाउँ संसद्लाई प्रभावकारी बनाउनैपर्छ।”
उनले क्यालेन्डरअनुसार संसद् सञ्चालन गर्ने प्रयास भए पनि व्यवहारमा त्यो सफल हुन नसकेको गुनासो गरे। “हामीले क्यालेन्डर बनाएर संसद् चलाउने कोसिस गरिरहेका छौं,” घिमिरेले भने, “तर कोही कसैलाई रिस उठ्यो भने संसद् अवरुद्ध हुन्छ, त्यसको पछि दल लाग्छ र सदन रोकिन्छ।”
अन्त्यमा, उनले संसद् अवरुद्ध हुने प्रवृत्तिको गम्भीर मूल्याङ्कन आवश्यक रहेको बताएका छन्। “हामी जति नै प्रणाली बनाउँछौं, प्रक्रिया तय गर्छौं, सदन चलाउन राजनीतिक इमानदारी र साझा दायित्वबोध अनिवार्य छ,” उनले जोड दिए।