Butwal Today

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा र सुविधाहरू फिर्ता गर्ने

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

सक्रिय राजनीतिमा पुनः फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदावधिपछि प्राप्त हुँदै आएको सरकारी सेवा र सुविधाहरू फिर्ता गर्ने तयारी गरेकी छन्।

पूर्वराष्ट्रपतिले यसअघि नै शितल निवासबाट आफ्नै निजी निवासमा फर्किने निर्णय गर्दै केही सुविधा त्यागिसकेको स्रोतहरूले बताएका छन्। उनका निकट स्रोतका अनुसार, “भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गरेकी थिइन्। बाँकी सुविधा पनि १ साउनदेखि लागू हुने गरी फिर्ता गर्ने पत्र पठाउने तयारी भइरहेको छ।”

हाल पूर्वराष्ट्रपतिलाई सरकारले दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा, र इन्धन खर्च बेहोर्दै आएको छ। यद्यपि, भण्डारीले शितल निवास छाडेपछि सरकारले दिने तलब र निवास खर्च नलिएको स्रोतको भनाइ छ।

भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गर्दै पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी थिइन्। यस निर्णयसँगै उनले अब पूर्वराष्ट्रपतिको हैसियतबाट पाउने सबै सेवा र सुविधा त्याग गर्दै पूर्णकालीन राजनीतिक भूमिकामा फर्कन लागेको संकेत मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?