© २०२३
नवलपरासी, १६ असार ।
जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा गरेको छ । सुस्ता गाउँपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उक्त स्थल बौद्धमार्गीको एक महत्त्वपूर्ण तीर्थस्थल पर्यटकीय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको हो । नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रूपमा प्रचलित रहेको र भगवान् बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरूको लागि विशेष महत्त्व राख्ने स्थानहरूका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि एक धार्मिक पर्यटकीय गन्तव्य रहँदै आएको छ ।
यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट (ठाढी घाट लाई भगवान् सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा हार्दिक बधाई तथा सो प्रबज्या स्थललाई बौद्ध धर्मावलम्बिहरूका लागि एक नयाँ पर्यटकीय गन्तब्यका रूपमा विकास तथा प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको पनि जानकारी दिँदै हार्दिक शुभकामना व्यक्त गरेको कुरा पत्रमा उल्लेख छ ।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीद्वारा हस्ताक्षरित उक्त पत्र सार्वजनिक भए पश्चात् सरोकारवाला उत्साही भएका छन् । अनोमाघाट घोषणा गराउनमा प्रयत्नरत रहेको पिस क्लब इन्टरनेसनल नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले अहिले पर्यटन बोर्डको उक्त घोषणाले जिल्लावासीलाई उत्साही बनाएको प्रतिक्रिया दिएका थिए । त्यसका लागि तत्कालीन गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको सक्रियता रहेको थियो ।
अनोमाघाट घोषणा पश्चात् उक्त स्थानमा असार पूर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पूर्णिमा हजार बत्ती बालेर मनाइँदै आएको छ । असार पूर्णिमाकै दिन सिद्धार्थ गौतम गृह त्याग गरी अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रबज्या) लिई कपाल मुण्डन गरेर संन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापूर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रूपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ती बाल्ने कार्यक्रम गाउँपालिकाले गरेको थियो ।
नेपालको बोधगयाको रूपमा संसार भरि चिनाउने उद्देश्यले गाउँपालिकाद्वारा विभिन्न कार्यक्रम हुदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ति गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाइला भएको हुँदा नेपालको बोधगाय भनेर चिनाउनमा स्थानीय पनि लागेका थिए । हजार बत्तिको अर्थ भगवान् बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर प्रबज्य भई भिच्छु बनेको दिन हो । ती हजार जना भिक्षु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अर्हन्त (मुक्त) भएको बौद्ध इतिहासमा उल्लेख छ ।
सारनाथमा पाँच वर्गीय भिक्षुलाई धुम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालीन सम्राट् बिम्बिसारलाई बुद्धत्व (ज्ञान) प्राप्ति पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट् बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कात्तिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालीन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप, उर्वेला कस्यप र गया कश्यप तीन जना जटिल ऋषि सहित उनका शिष्यलाई समेत सो ज्ञान बाटोमा दिँदै भिक्षु सङ्घ बनाए । ती ऋषिका क्रमशः ५ सय, ३ सय २ सय शिष्य थिए ।
ती सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको सङ्ख्यामा साँधुहरू भिक्षु भएको दिन कार्तिक पूर्णिमाको दिन थियो । तिनै एक हजार भिक्षुलाई लिएर भगवान् बुद्ध सम्राट् बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट् विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट् विम्बिसारले भोजनदानपछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिक्षुहरूको बासका लागि बेलुबन विहार बनेको थियो ।
भारत, श्रीलंका, म्यानमार, थाईलैण्ड लगायतका विभिन्न देशमा कात्तिक पूर्णिमालाई विभिन्न कार्यक्रम गरी बौद्ध विहारहरूमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरी विश्व शान्तिको स्रोतको रूपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा गत वर्षदेखि कात्तिक पूर्णिमाको दिन ति एक हजार भिक्षुहरू बुद्धको ज्ञान पाएर जरामरणबाट मुक्त भएको दिन सम्झँदै हजार बत्ती बाल्ने परम्पराको शुभारम्भ तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पौडेलले चलाएका थिए । यो वर्ष पनि पालिका, वडा कार्यालय र स्थानीयवासी मिलेर सो परम्परालाई निरन्तरता दिएको पालको भनाइ थियो ।
गत असार पूर्णिमामा पनि सिद्धार्थ गौतम गृह त्याग गरी यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरी राजसी पोसाक त्याग गरी संन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झँदै स्थानीय र श्रद्धालुहरूले कपाल मुण्डन गरी असार पूर्णिमा मनाएका थिए । असार पूर्णिमादेखि बुद्धको भिक्षुहरूको बर्षाबास सुरु हुन्छ । त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाइने चलन छ । दुई वर्षदेखि कार्तिक पुर्णिमा हजार बत्ती बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाइमा पुर्याएको उनले विश्वास ब्यक्त गरेका थिए ।
अनोमाघाटमा कम्तीमा पनि असार पूर्णिमा र कात्तिक पूर्णिमालाई भव्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरूको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कँदा कोलिय राज्यको अन्तिम सीमा अनोमा नदी किनारमा पुगेपछि उनको कण्टक घोडा ठढा भयो, त्यही बेला देखी स्थानीय स्तरमा ठाढीघाटको रूपमा चिनिएको हो ।
