Butwal Today

क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा लगाउन लागिएको डिजिटल सेवा कर फिर्ता लियो

१६ असार २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

क्यानडाले ठूला अमेरिकी प्रविधि कम्पनीहरूमा लगाउन लागेको डिजिटल सेवा कर फिर्ता लिएको छ। बीबीसीका अनुसार क्यानडाको निर्णयसँगै अमेरिका र क्यानडाबीच रोकिएको व्यापारसम्बन्धी वार्ता फेरि सुरु हुने भएको छ।

क्यानडाको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यस विषयमा पुनः वार्ता गर्ने सहमति भएको उल्लेख छ।

यसअघि, राष्ट्रपति ट्रम्पले क्यानडाको कर प्रस्तावप्रति असन्तुष्टि जनाउँदै व्यापार वार्ता रोक्ने चेतावनी दिएका थिए। ट्रम्पले ठूला अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी कर लगाउने योजनालाई “अमेरिकाविरुद्धको अनुचित चाल” भनेका थिए।

सालको सुरुवातदेखि नै दुवै देशबीच व्यापारिक तनाव चर्किएको थियो। एकअर्काका वस्तुहरूमा शुल्क लगाउने कार्यले सम्बन्ध झनै तिक्त बनेको थियो।

क्यानडा सरकारले भने, धेरैजसो प्रविधि कम्पनीहरूले क्यानडामा आम्दानी गरे पनि त्यहाँ कर नतिरेकोले डिजिटल सेवा करको प्रस्ताव गरिएको थियो। यद्यपि, सरकारले स्पष्ट पारेको छ कि क्यानडाको प्राथमिकता सधैं अन्तरर्राष्ट्रिय सहमतिको आधारमा साझा कर संरचना विकास गर्नु नै हो।अब क्यानडा अमेरिका लगायत अन्य अन्तरर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै डिजिटल सेवा करको एकीकृत प्रणाली निर्माणतर्फ अग्रसर हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?