काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सानेपामा सुरु भएको छ। करिब ९ महिनापछि बसेको बैठकलाई पार्टीभित्रको असन्तोष र समसामयिक राजनीतिक सन्दर्भका कारणले विशेष चासोका साथ हेरिएको छ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू सहभागी भएका छन्। बैठकमा सरकारको समीक्षा, भातृ संस्थाहरूको म्याद थप, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति, लगायतका विषयमा छलफल भइरहेको छ।
तर, बैठक सुरु भइरहँदा पार्टी कार्यालय सानेपाको गेटबाहिर भने तीव्र असन्तोष देखिएको छ।
विद्वान गुरुङ नेतृत्वको नेविसंघ तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको हो। रोजन राई, अम्बिका बाँस्कोटा लगायतका नेताहरू गेटमा आमरण अनशनमा बसेका छन्।
उनीहरूले ६ बुँदे कारणसहित तदर्थ समिति विघटनको माग गरेका छन्। विशेषतः अधिवेशन समयमा नगर्नु, नेतृत्व असक्षमता, र लोकतान्त्रिक प्रक्रियाको हनन जस्ता विषयमा असन्तुष्टि प्रकट गरिएको छ।
त्यस्तै नेविसंघका अन्य कार्यकर्ताहरू पनि कालो पोशाकमा विरोध प्रदर्शनमा उत्रिएका छन्। “९ वर्षसम्म अधिवेशन नगर्ने लोकतान्त्रिक पार्टी?”, “अधिवेशन कहिले?” भन्ने नारा लेखिएको प्लेकार्डसहित उनीहरू विरोधमा उभिएका छन्।
बैठक राजनीतिक र सांगठनिक निर्णयका लागि महत्त्वपूर्ण मानिए पनि, आन्तरिक असन्तोष र दबाबका बीच यसको प्रभावकारिता कस्तो हुने भन्नेमा शंका उब्जिएको छ।



