© २०२३
केही दिनदेखि नेपालमा मनसुन सक्रिय हुँदै गर्दा देशका अधिकांश स्थानमा भारी वर्षा हुने क्रम सुरु भैसकेको छ । भारी वर्षाका कारण प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोले निम्त्याउने जोखिमको खतरा पनि बढ्दो छ । यही वर्षाको बेला बेला दुर्घटनाका घटना बढेका छन् । खास गरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति हुन थालेको छ । प्रदेश ट्राफिक कार्यालयका बुटवलका अनुसार वर्षाले निम्त्याउने प्राकृतिक प्रकोप र चाडपर्वकै बेला सवारी दुर्घटना बढी हुने गरेका छन् ।
यस्ता दुर्घटनाहरूलाई हेर्ने हो भने देशभर यो तथ्याङ्क कैयौँ गुणाले बढी हुनसक्छ । सवारी दुर्घटनाको अवस्थालाई हेर्ने हो भने अधिकांश दुर्घटना हलुका सवारी साधनबाट भएको देखिन्छ । ठुला सवारी साधनभन्दा पनि हलुका सवारी साधनमा मोटरसाइकल चालकको दुर्घटना बढी रहेको र क्षतिसमेत यस्ता सवारीसाधन दुर्घटनामा बढी भएको पाइन्छ । बदलिँदो समय अनुसार सुविधा प्रयोग गर्नु त्यसलाई स्वाभाविकै मान्नुपर्छ तर सही तरिकाले सदुपयोग गर्न नसक्दा यस्ता दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
वर्षाको समयमा हुने दुर्घटनाले ठुलो क्षति पु¥याउने गरेको छ । बाटो चिप्लो हुने, पहाडी क्षेत्रमा पहिरो सवारीका साधनमाथि खस्ने, खाल्डाखुल्डीमा जमेको पानी नदेखेर बढी दुर्घटना हुने गरेको छ । पानी परेकै अवस्थामा गाडीको ब्रेकले समेत काम नगरेको अवस्था देखिन्छ । खासगरि सवारी साधन चलाउँदा चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी हाँक्नु, ट्राफिक नियम कानुनको अधिकांशले जानीजानी दुरुपयोग गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु जस्ता कारणले बर्षामासमा दुर्घटना बढेको छ । यसर्थ चाडपर्वको समयमा हुने सवारी दुर्घटनाका बीभत्स घटना रोक्न आगामी दिनमा सवारी सञ्चालक, प्रहरी प्रशासन र स्वयं सरकारसमेत आ–आफ्नो ठाउँबाट दुर्घटना न्यूनीकरण गर्नेतर्फ जिम्मेवार ढङ्गले लाग्न अति जरुरी छ । त्यसैले सवारी दुर्घटनाका यस्ता बीभत्स घटना न्यूनीकरण गर्न हामी सबै आफ्नो ठाउँबाट जिम्मेवार हुनु जरुरी छ । दुर्घटनाको बढ्दो जोखिमलाई कम गर्नै पर्दछ ।
दुर्घटनाकै कारण कसैको घरमा आँसु बग्ने र कसैको घरमा खुसीयालीको रौनक छाउने हुनुहुँदैन । त्यस कारण सडकसँग सम्बन्धित सबैले यस विषयमा चनाखो भएर दुर्घटना न्यूनीकरणमा सचेत बन्नुपर्दछ । खास गरी प्राकृतिक प्रकोपको अहिलेको अवस्थामा चनाखो बन्नु जरुरी छ । अनि मात्र दुर्घटना नियन्त्रणमा मद्दत पुग्छ । मनसुन सक्रिय भएको ठिक यही बेला प्राकृतिक प्रकोपको जोखिमको अवस्था छ । तसर्थ अहिले सवारी साधन चलाउँदा बढी सावधानीको खाँचो छ । देशका विभिन्न स्थानमा बाढी पहिरो र त्यसले पु¥याएको विस्थापनको खतरा पनि बढ्दो छ । प्रकोपको बेला स्वाभाविक रूपमा दुर्घटनाका घटना बढेका छन् । खास गरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति भएको छ । यो वर्षको प्रकोपजन्य घटना बाढी, पहिरो र चट्याङका कारण अहिलेसम्म दुई दर्जन बढीको मृत्यु भएको छ ।
पहाडी क्षेत्रमा पहिरो गएर घर नै पुरिएको अवस्था छ । त्यसबाट हरेक वर्ष ठुलो मानवीय क्षति हुँदै आएको छ । त्यसो त पहाडमा पहिरो र तराईमा बाढी हरेक बर्षायामको नियति नै हो । असारको पहिलो साताबाटै उत्पन्न प्राकृतिक प्रकोपले पहाड र तराईमा पहिरो र डुबान तथा बाढीको समस्या देखिएपछि फेरी एक पटक प्रभावितहरूको व्यवस्थापनको चुनौती थपिएको छ । मानिसको बाँच्न पाउने हक सबैभन्दा ठुलो अधिकार हो तर मानिस आफ्नै लापरबाहीले प्राकृतिक प्रकोपको सिकार भइरहेको छ । असार महिना आधा पनि नहुँदै बाढी र पहिरोमा परि कैयौँले ज्यान गुमाउन बाध्य भएका छन् । बाढी र पहिरो हरेक वर्षा यामको नियमित प्रक्रिया हो । अबको दिन अझै कष्टकर र चुनौतीको हुने निश्चित छ । किनभने धेरै पानी पर्ने दिन आउनै बाँकी भएकोले पूर्व सावधानीमा ध्यान जाओस् ।