© २०२३
भनिन्छ– मानिस दुई प्रकारका हुन्छन् । एउटा आकारको र अर्को सारको । यसमा कति सत्यता छ ? उसको व्यवहारबाट हेर्नुपर्दछ । कसैको व्यवहार विना यसलाई यकिन गरेर भन्न सकिदैन । जसको व्यवहार जस्तो छ त्यसैबाट यो मानिस सारको हो या आकारको हो भन्ने पुष्टि हुन्छ । यसलाई धेरै कसी लगाउनु पनि पर्दैन । कसैलाई एकदुई व्यवहारबाट थाहा पाउन सकिन्छ । कसैलाई अलिक समय लाग्न सक्छ । हुन त सबैले आफूलाई अब्बल मानव भन्ने अधिकार पनि छ । अनि आफैपनि अब्बल ठान्न सक्दछन् । यसको वास्तविकता जान्नका लागि जो सुकैसंग पनि केही छोंटो वा लामो साथ संगत गरेर वा उसको वारेमा राम्रो जानकारी लिनु पर्दछ ।
जानकारी लिने अन्य विभिन्न तरिकाहरू पनि हुन्छन् र छन् पनि । अरू जनावर भन्दा मानिसलाई फरक देखाउने निश्चित केही कुराहरू हुन्छन् । सारको कुरामा केही शर्तहरू हुन्छन् । यसमध्यको पहिलो कुरा सारको मासिनसंग दीर्घकालिन योजना हुन्छ । योजना हुन्छ भन्नुको तात्पर्य मानिससंग बुद्धि हुन्छ र उसले बुद्धिले हरेक काम सहज बनाउन सक्छ वा सम्पन्न गर्न सक्छ । मानिसभित्र महत्वाकांक्षा हुन्छ, जिज्ञासा हुन्छ, स्वाभिमान हुन्छ, भविष्यको लागि केही सञ्चयको सोंच हुन्छ । आफूले कस्तो सुविधा चाहने हो र त्यो सुविधा कहाँबाट प्राप्त हुन्छ ? त्यसको वारेमा इच्छा शक्ति प्रकट हुन्छ ।
यस्ता कुराले मानिसलाई अरू प्राणि भन्दा फरक मानिन्छ । यहाँ उल्लेख गरेका कुरा नभएको वा एकदमै न्यून भएको मानिस आकारको मानिस हो । त्यस्तोलाई सारको मानिस भन्न सुहाउँदैन । जससंग सार छैन उससंग सार खोज्नु पनि एक प्रकारको भूल हो । मानिस त हो उसले आफ्नो विवेक प्रयोग गर्न सक्दैन भने उसको बुद्धिको के काम ? बुद्धि भएको मानिस हो भन्नु पनि राम्रो हुँदैन । जस्तो नीति श्लोकमा निकै घतलाग्दो कुरा भनिएको छ ।
“शुनः पुच्छमिव व्यर्थ जीवितं विद्यया विना ।
न गुश्य गोपने शक्तं न च दंश निवारणे ।।”
अर्थात विद्याहिन मानिस र गुप्तांग छोप्न नसक्ने अनि झिंगा भगाउन नसक्ने कुकुरको पुच्छर एकै हो । यो श्लोक झट्ट सुन्दा हाँसो लाग्छ होला तर हाँसो लाग्नुपर्ने केही छैन । तपाई अलिक गम्भिर भएर यो श्लोक बुझ्नुस् । मनन गर्नुस् अनि मात्र यसको सार जान्न सकिन्छ । आजसम्म कुकुर नदेखेको कोही छैन तर कुकुरको पुच्छरको वारेमा यति गहिरोगरी विचार नगरेको पनि हुनसक्छ । तपाईले कुकुरको पुच्छर कुनै काममा प्रयोग भएको देख्नु भएको छ ? यो पंक्तिकारलाई कुकुरको पुच्छरले यही काम गर्छ भन्ने यो उमेर वितिसक्दा सम्म कुनै थाहा छैन । चाहे वेलायती कुकुर होउन चाहे भोटबाट ल्याईएका भोटे कुकुरा होउन्, अथवा महंगा मूल्यका अन्य विदेशी कुकुर होउन ।
कुनैपनि कुकुरको पुच्छरले कुनै काम गरेको याद छैन । सायद यहाँहरू कसैले पनि कुकुरको पुच्छरले कुनै काम गरेको देख्नु भएको छैन होला । नीति श्लोकमा जुन कुरा उल्लेख भएको छ त्यसको आधारमा भन्ने हो भने विद्या अर्थात ज्ञान नभएको मानिस पनि वेकामको हुन्छ भन्नु अन्यथा हुँदैन । ज्ञान दिलमाहुन्छ अनि दिमागमा हुन्छ । जुन व्यक्तिको मनमा ज्ञान हुन्छ उसको दिल र दिमाग साहै्र उदार हुन्छ । मन अलिक फराकिलो हुन्छ ।
धेरैसंग मिल्न सक्ने मात्र नभएर धेरैलाई मिलाउन सक्ने क्षमताको समेत हुन्छ । अरूको डाह गर्ने, अरूलाई माथि लैजान नचाहने र सकेसम्म तल खस्काउन चाहने, अरूको भलो नचाहने, हरतरहबाट उसको खिस्सी ट्युरी गर्ने अनि मौका छोपेर अपमान गर्ने जस्ता व्यवहारले असली मानिसको सार पाउन सकिदैन । त्यो पनि एक प्रकारको आकारको मानिस हो । यस्तैलाई नीति श्लोकले आकारको मानिस भनेको छ । आकारको मानिस खोज्न धेरै टाढा जानु पर्दैन । तपाईंको छरछिमेकमा पनि आकारका मानिसहरूको संख्या केही हुन सक्छ । एक पटक तपाईसंग उनीहरूले गरेको व्यवहार देखेर वा सुनेर पनि तपाई आफै आकारको मानिस वा सारको मानिस भन्न सक्नुहुन्छ ।
मानिसले बनाउने योजना सकेसम्म धेरैलाई हित हुने खालको हुनुपर्दछ । धेरैको हित हुने बनाउन सक्नु अति उत्तम हो तर त्यो पनि सकिदैन भने अरूको नोक्सान नहुनेगरी आफ्नो वर्ग वा समूह वा समाजको हित हुनेकुरा त जान्न सकोस् । मानिस पहिलो नम्वरमा अकारबाट फरक हुन्छ । यो भन्नुको तात्पर्य के भने सबै मानिसको अनुहार र शारीरिक बनावट फरक हुन्छ । त्यो त सबैले बुझेको कुरा भयो । यत्तिले मानिस अरू जनावर भन्दा फरक हुँदैन । फरक हुनका लागि माथि नै केही शर्तका कुरा गरिएको छ । यहाँ उल्लेख भएका कुराहरू दीर्घकालिन हुनुपर्दछ ।
एकछिनको लागि वा एउटामात्र कार्यक्रम भएर फरक हुँदैन । आफ्नो पुच्छरले शरीरभर झिंगा लाग्दा समेत प्रयोग गर्न नबन्ने र गुप्तांग पनि छोप्न नसक्ने कुकुरको पुच्छरको काम नभए जस्तै लक्ष नभएका वा योजना बनाउन नसक्ने देखि लिएर अरूको उचित मान तथा सम्मानमा समेत सरिक हुन नसक्ने व्यक्तिका वारेमा लामो चर्चा गर्न आवश्यक छ जस्तो लाग्दैन । हरेक मनिसको पहिलो धर्म भनेको मानव सेवा हो । त्यसैलाई मानव धर्म भन्छि । हरेक मानिसले जुनसुकै काम गर्नकालागि क्षमता वा बुद्धि प्रयोग गर्नु पर्दछ । असल बुद्धिबाट असल क्षमता जन्मने हो । असल क्षमताले समाजमा सम्मान कमाउने हो । उसको बुद्धि नै असल छैन भने असल क्षमता कहाँबाट आउला ? केही मानिसहरूमा फरक स्वभाव देखिन्छ । यसो किन देखिन्छ ? उनीहरूलाई मज्जाले सोध्नुपर्दछ ।
उनीहरूसंग ज्ञान नभएर हो वा आफ्नो मनभित्रको अहम्ताले हो ? यसो गर्नुको अर्थ दुबै पनि हुन सक्छ । केही मात्रामा अल्पज्ञानले हुन्छ भने केही मात्रामा अहम्ताले पनि हुन सक्छ । यो भन्दा फरक केही होइन । आफूले गर्नुपर्ने कर्तव्य नजान्नेहरूले यस्तो प्रवृति देखाउने गर्दछन् । उनीहरू भित्रको अहम्ता र घमण्डीपन दुबै उस्तै स्वभावले उनीहरूलाई सारको मानिस बन्न दिएको हुँदैन अनि उनीहरू आकारको मानिसमा सिमित हुन्छन् । वास्तवमा मानिसको जीवनको सार भनेको आकारको मानिस होइन सारको मानिस हो । आकारले मानिस देखिएर हुँदैन सारले मानिस देखिनुपर्दछ । यसमा द्विविधा मान्नु पर्ने केही छैन । किनभने मानव धर्म नभएकाहरूसंग सार हुँदैन उनीहरूको मनमा अहम्ता वाहेक अरू केही हुँदैन । आकारमा सिमित भएकाहरूले आफ्नो रूप र यौवनलाई प्राथमिकता दिन्छन् ।
आफ्नो बुद्धि र बललाई बढता महत्व दिन चाहन्छन् । असल बुद्धि हुने हो भने बलको उपयोग गर्न सकिन्छ । आज बनेका सबै उपकरणहरू बलले भएका होइनन्, ज्ञानले बनेका हुन् । ज्ञानको प्रयोग नगर्नेहरूको जीवन कुकुरको पुच्छर भन्दा भिन्न हुँदैन भन्दा त्यतिसारो फरक पर्ने कुरा होइन । किनभने अहम्ता भएकाहरू भित्र अरूलाई तल्लो दर्जाको ठान्ने भावना प्रवल हुन्छ । यो भावना मनमा भएसम्म उनीहरूको बुद्धिमा अर्को विर्को लागेको हुन्छ । जब वुद्धिमा विर्को लाग्छ तव मानवीय धर्म भन्ने लेश्मात्र पनि हुँदैन । जव लेश् पनि हुँदैन उसको जीवन सार्थक भन्ने पनि हुँदैन । स्वभावले हो मानिस बन्ने । मानव आकारका त गुडिया पनि हुन्छन्