काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदको आकस्मिक समयको दुरुपयोग भइरहेको आरोप लगाउँदै, अव्यवस्थित र आपत्तिजनक अभिव्यक्ति दिने सांसदहरूलाई बोल्न नदिने व्यवस्था गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले संसदमा प्रतिदिन गालीगलौज, व्यक्तिगत लाञ्छना र अवमानजनक शब्द प्रयोग हुने प्रवृत्तिको अन्त्य आवश्यक भएको बताएका हुन्। उनले भने, “चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने प्रक्रिया सुरू भएको छ, यसरी संसद चल्न सक्दैन।”
उनले सरकारसँग माग सम्बोधनका लागि समिति बनिसकेको अवस्थामा रास्वपा र राप्रपाको संसद अवरोधको औचित्य नरहेको जिकिर गरे। भिजिट भिसासम्बन्धी विषयमा पनि संसदमा ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको उल्लेख गर्दै उनले संसदको समय व्यवस्थापनमा गम्भीरता अपनाउन आग्रह गरे।
प्रमुख सचेतक घिमिरेले स्पष्ट रूपमा चेतावनी दिँदै भने, “यदि यस्तो अवस्था अन्त्य गरिएन भने हामीले पनि त्यही ढंगमा प्रतिवाद गर्नुपर्ने हुन्छ। संसदको मर्यादा कायम राख्न हो भने यस्तो अभिव्यक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ।”




