© २०२३
नवलपरासी ।
नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रूपमा प्रयोग हुँदै आएको वैकल्पिक सडक आइतबारको भारी वर्षापछि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, बिहानदेखि परेको वर्षाका कारण खरङ्गे खोलामा बाढी आउँदा होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै प्रयोग हुँदै आएको वैकल्पिक सडक पूर्ण रूपमा बन्द भएको हो।
यसअघि ठूला सवारीसाधन डाइभर्सनमार्फत सञ्चालनमा थिए भने साना तथा यात्रुवाहक गाडीहरू वैकल्पिक बाटो प्रयोग गर्दै आएका थिए। तर बाढीले डाइभर्सनसमेत बगाएपछि अहिले पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको नेपालले जानकारी दिए।
खोलाको बहाव बढेपछि जोखिम न्युनिकरणका लागि सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको छ। दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको हो। पानी परेपछि डाइभर्सनमा क्षति पुग्ने र राजमार्ग बन्द हुने समस्या पटकपटक देखिँदै आएको छ।
हाल नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ। पुल निर्माण सम्पन्न भएपछि डाइभर्सनको विकल्प आवश्यक नपर्ने अवस्था आउने छ। तर, उता दाउन्ने खण्डमा निर्माण कार्य नसकिँदा पानी पर्दा सडक चिप्लो हुने र नियमित रूपमा यातायात अवरुद्ध हुने समस्या भने कायमै छ।