© 2026
दाङ, १५ असार ।
आज राष्ट्रिय धान दिवस । मुठी छरेर मुरी उब्जाउने दिनका रूपमा यो दिनलाई लिने गरिएको छ । यो वर्ष ‘धानबालीमा सघनताः खाद्य सुरक्षा र आत्मर्निभरता’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । नेपालमा मनसुन समयमै भित्रिए पनि पानी पर्याप्त रूपमा नपर्दा जिल्लामा यो वर्ष धान रोपाइँ हुन सकेको छैन । असार १५ भइसक्दा पनि मुख्य बालीमा रूपमा लिइने धान रोपाइँको काम दाङमा ३० प्रतिशत क्षेत्रफलमा मात्रै भएको छ । जिल्लाको सिँचाइ सुविधा भएका स्थानमा किसानले जेठ अन्तिम साताबाट धान रोप्न सुरु गरे पनि अधिकांश ठाउँमा अझै खेत बाँझै छन् ।
पर्याप्त सिँचाइ सुविधा नभएको ठाउँका कृषकले बेलैमा धानको ब्याड राख्न नपाउनेदेखि खेतीपातीका लागि पानी अभावमा समयमा काम गर्न नपाउँदा किसानलाई धान रोप्न ढिलाइ हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार असार १४ गतेसम्म जिल्लामा ३० प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिँचाइको सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिला गरी पानी परेपछि अहिले किसान धानको ब्याड राख्न थालेका छन् ।
जिल्लाको राप्ती, लमही, गढवा, राजपुर गाउँपालिका बाहेक अरू पालिकामा थोरै मात्रामा मात्रै धान रोपाइ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताए । जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइ भएको छ । सूचना अधिकारी लामिछानेले भने, ‘मध्ये असार बितिसक्दा पनि यस वर्ष ढिला गरी बर्षात हुँदा रोपाइ हुने कुल क्षेत्रफलको करिब ९० प्रतिशत धान रोपाइ देउखुरी क्षेत्रमा भइसकेको छ । तर, जिल्लाभरको अवस्था हेर्दा करिब ३० प्रतिशत मात्रै रोपाइ भएको छ ।’
सिँचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले रोपाइँ सुरु गरेको हुँदा अब रोपाइँ भएको तथ्याङ्क बढ्दै जाने छ । अरू पालिकामा त अझै धेरै जसो ठाउँमा धानको ब्याड राख्ने काम भएको छैन । जिल्लामा यो वर्ष ३७ हजार २ सय २५ हेक्टरमा धान रोपाइ हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । गत वर्ष पनि जिल्लामा ३७ हजार २ सय २५ हेक्टरमा धान खेती भएको थियो । पछिल्लो समय तरकारी तथा फलफूल खेतीतर्फ किसान आकर्षित भएकाले वर्षे नि धान खेती हुने क्षेत्रफल घट्दै गइरहेको ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ लामिछानेले बताए ।
कृषियोग्य जमिन घडेरीका रूपमा परिणत हुन थालेपछि पनि खेती हुने क्षेत्रफल खुम्चिँदै गएको छ । कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ लामिछानेले भने, ‘धान, गहुँ, मकै फल्ने खेतबारी अहिले घडेरी बन्न थाले । उद्योग कलकारखाना खुल्न थाले । यसले गर्दा खेतीयोग्य जग्गा खुम्चिन थाल्यो, भएका खेतमा पनि अन्नबाली नलगाउने, ड्रागनप फुड जस्ता फलफूल लगाउन र बाकी जमिन बाँझै राख्ने अनि सबै खाद्यान्न किनेर खाने चलन बढेर गएको छ ।’
दाङमा ६९ हजार नौ सय ५० हेक्टर जमिन खेतीयोग्य रहेको सरकारी तथ्याङ्क छ । जसमध्ये ६५ हजार नौ सय ८० हेक्टर जग्गामा मात्रै खेतीपाती हुने गरेको तथ्याङ्कले देखाउँछ । बाँकी दुई हजार सात सय ८० हेक्टर खेतीयोग्य जमिन खुम्चिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।