© 2026
काठमाडौं ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच तीव्र भनाभन भयो। अर्यालले खतिवडाले सदनमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ती अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरे।
अर्यालले आफू र आफ्नो कम्पनी ‘सुमिरे टुर्स एन्ड ट्राभल्स’माथि अनावश्यक आरोप लगाइएको भन्दै आपत्ति जनाए। उनले विगतमा कागजात किर्ते गरेर जेल बसेकाहरू संसदमा रहेको दाबी गर्दै, आफू चोरेर होइन, मेहनत गरेर खाने व्यक्ति भएको उल्लेख गरे। साथै, यदि आफूले पैसा लिएको प्रमाण छ भने पेश गर्न चुनौतीसमेत दिए।
उनले भने, ‘संसदीय समिति वा आयोगको मागलाई विषयान्तर गर्दै हामीमाथि निराधार आरोप लगाउने कोसिस भयो। हामी केही गरेर खाने मान्छे हौं, चोरेर खाने होइनौं। रेकर्डबाट हटाइयोस्।’
उनको अभिव्यक्तिपछि रामहरि खतिवडाले समय माग गर्दै प्रतिक्रिया दिए। उनले कसैको नाम नलिए पनि “चोरको खुट्टा काट् भन्दा खुट्टा झिक्ने” प्रतिक्रिया आएको टिप्पणी गरे। साथै अर्यालको अभिव्यक्तिलाई नै रेकर्डबाट हटाउन माग गरे।
सभामुख देवराज घिमिरेले दुबै सांसदलाई संयमित भाषा प्रयोग गर्न आग्रह गर्दै भने, ‘गैरसंसदीय भाषा, लाञ्छना र आरोपप्रति सावधानी अपनाउनुपर्छ। प्रत्येक सदस्यले आफूले बोलेको विषयप्रति जिम्मेवारी लिनुपर्छ।’
यस घटनामा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। संसदमा भिजिट भिसा प्रकरण बहसको केन्द्रमा रहँदै आएको छ र यो विषयले अब संसदीय मर्यादा र व्यवहारको बहस पनि जन्माएको छ।