© २०२३
सुर्खेत,१५ असार ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेशको समृद्धि नै कृषिबाट सम्भव रहेको बताएका हुन् । आइतबार वीरेन्द्रनगरमा अखिल नेपाल किसान महासङ्घ जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै प्रदेशलाई समृद्ध बनाउने आधार नै कृषि रहेको बताएका छन् । मुख्यमन्त्री कँडेलले कर्णालीको भौगोलिक अवस्थाले पनि विशिष्ट कृषि उत्पादनका लागि सम्भावना बोकेको उल्लेख गर्दै त्यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाट नै रोजगारी, उत्पादन र आम्दानी बढाउन सकिने बताए ।
उनले कृषिमा आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्ने र त्यसका लागि परम्परागत प्रणालीलाई परिमार्जन गरी आधुनिक, वैज्ञानिक र व्यावसायिक कृषि प्रणालीको अवलम्बन गर्न सके अहिलेको अवस्था बदल्न सकिने उनको भनाई छ । मुख्यमन्त्री कँडेलले कृषिलाई जीविकोपार्जनको माध्यम मात्र नभई आम्दानी र रोजगारीको स्थायी स्रोतका रूपमा कृषि पेसालाई विकास गर्नुपर्ने बताएका छन् । ‘हामी कृषिमा आत्मनिर्भर बन्न सक्छौँ, तर त्यसका लागि सरकार, किसान, प्राविधिक, निजी क्षेत्र र समुदाय सबैको साझा प्रयास आवश्यक छ ’ उनले भने कँडेलले कृषक पञ्जीकरण, कृषि सहुलियत ऋण, गुणस्तरीय बिउ र मलको वितरण, तालिम तथा सिँचाइ पूर्वाधारको विस्तारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताए । कार्यक्रममा स्थानीय कृषक जनप्रतिनिधि, कृषि प्राविधिक, सघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।