© २०२३
गुल्मी, १५ असार ।
कार्यक्रममा जाँदा सधैँ आयोजकहरूले अतिथिहरूलाई टिका, माला र खादाद्वारा सम्मान गर्ने प्रचलन हाम्रो समाजमा कुनै नौलो विषय हैन । अतिथिहरू पनि आयोजकहरूले लगाई दिएका खादा र मालाको भारीसँगै रमाउँदै घण्टौँसम्म कार्यक्रममा बसिरहने प्रचलन यद्यपि विद्यमान छ । तर गुल्मीमा भने पहिलो पटक त्यस्तो प्रकारको परम्परालाई तोडेर अतिथिहरूले आयोजकलाई उल्टै त्यही टिका र माला लगाई दिएर नयाँ परम्पराको सुरुवात गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको उन्नत प्रविधियुक्त बाख्रा खोर निर्माण कार्यक्रम अन्तरगत ईस्मा गाउँपालिका वडा नं १ र २ का सुनभद्र बहुउद्देश्यीय कृषक समूहका कृषकहरूलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले अतिथिहरूलाई लगाइदिन राखेको टिका र माला उनै कृषकहरूलाई लगाइदिएर सम्मान प्रकट गरेका थिए ।
आयोजकले अतिथिहरूलाई सत्कार गर्नु भन्दा पहिले अतिथिहरूले नै आयोजकलाई मञ्चमा बोलाएर यसरी सम्मान गरेको देख्दा स्थानीयहरू पनि दङ्ग परेका छन् । जिल्ला समन्वय समिति प्रमुख खत्रीले उन्नत प्रविधियुक्त बाख्रा खोर निर्माण कार्यक्रममा स्थानीय कृषकहरूले गरेको मेहनत हेर्दा आफूहरू निकै प्रभावित बनेको बताए । त्यस क्षेत्रका कृषकहरूले परियोजनाबाट बाख्राको खोर निर्माणका लागि भनेर एकमुष्ट ९५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
तर कृषकहरू आफूले एक–एक लाख रुपैयाँ थप गरेर कुल एक लाख ९० हजार लागतमा बाख्राको लागि नमुना खोर निर्माण गरेका हुन । स्थानीय सुनभद्र बहुउद्देश्यीय कृषक समूहबाट ६ वटा खोर निर्माणका लागि ५ लाख ७० हजार रुपैयाँ परियोजना मार्फत उपलब्ध गराइएको कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रमेश जैसवालले बताएका छन् । परियोजना मार्फत ईस्मा गाउँपालिकामा यस आर्थिक वर्षमा मात्र दश वटा खोर निर्माण गरिएको छ ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंङ खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, लगायत विभिन्न कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ईस्मासँगै रेसुङ्गा नगरपालिका –३ अन्तरगत गुठीमा सञ्चालन गरिएको चक्लाबन्दी कार्यक्रमको पनि अनुगमन गरिएको थियो ।