© २०२३
आज २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव । नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा आजको दिनको विशेष महत्त्व रहेको छ । धान दिवसका अवसरमा सङ्घीय सरकार, प्रदेश तथा पालिकाहरूले देशका विभिन्न स्थानमा रोपाई महोत्सव गर्दै छन् । उता धान दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री र नेताहरूले शुभकामना दिएका छन् । २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारले प्राथमिकता दिने बताएका छन् । जलवायु परिवर्तनका कारण धानलगायत बालीहरूमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा रहेको छ ।
कृषि क्षेत्रको व्यवसायीकरण र विविधीकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठुलो चुनौतीको रूपमा देखिएको छ । जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान तथा चामलको आयात प्रतिस्थापन गर्नेतर्फ अबको पहल जरुरी छ । तर, दुर्भाग्य हाम्रो पुस्तासम्म आइपुग्दा नेपाल कृषिप्रधान देश भनेर चिनाउन अप्ठेरो लाग्ने अवस्था भइसकेको छ । कृषिमा दिन प्रतिदिन परनिर्भरता बढ्दै छ । कृषियोग्य जमिन मासिँदै र बाझिँदै छन् । मानिसहरू जति जति गाउँबाट सहरतिर बसाइँ सरेका छन्, त्यति त्यति कृषि उत्पादन पनि खुम्चिँदै गएको छ । कृषि बालीमध्ये मुख्य बालीका रूपमा रहेको धानका लागि नेपाल पकेट क्षेत्र हो तर दुर्भाग्य धानमा पनि परनिर्भर हुनुपर्ने अवस्था बढ्दै छ । नेपाल कृषि प्रधान देश हो तर विडम्बना नेपालमा अझै पनि कृषिलाई हेयको दृष्टिले हेर्ने परम्परा कायमै छ । त्यसका साथै अधिकांश किसान धान दिवसप्रति अझै पनि बेखबर छन् । अर्थात् वास्तविक किसानले धान दिवसको महत्त्व बुझ्नै पाएका छैनन् ।
अहिले पनि नेपालले वार्षिक ४० अर्बको चामल आयात गर्नु परिरहेको छ । यहाँका अधिकांश नागरिक अझै पनि कृषिमै आश्रित छन् तर कृषि प्रधान देश भैकनपनि किसानले सरकारबाट उचित राहत र संरक्षण पाउन सकेका छैनन् । वि. सं २०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देश थियो तर ५०÷६० वर्षको अन्तरालमा नेपाल धान उत्पादनमा निकै कमजोर बनेको छ । यो गम्भीर चिन्ताको विषय हो । नेपाल सरकारको यो विषयमा समयमै ध्यान जाओस् । नेपाल सरकारले आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न सरकारले अभियान चलाओस् । नेपालमा हाल ५७ मेट्रिक टन धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि अझै तीन लाख मेट्रिक टन धानको अभाव रहेको छ । सरकारले आगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन धान उत्पादन बढाउने प्रतिबद्धता गरोस् । नेपालमा अझै पनि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने गरी कृषि रणनीति तयारी भएकै छैन ।
धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरण गर्नेतर्फ पहल जरुरी छ । अधिकांश नेपालीहरूको आयआर्जनको माध्यम कृषि नै हो । तर विडम्बना हरेक दिवस जस्तै धान दिवस पनि औपचारिकतामै सीमित वनेको छ । अहिले रोपाई को माचो छ तर किसानले मलकै लागि अझै पनि सास्ती पाउनु परेको छ । उन्नत धानको बीउ नभएकै कारण उत्पादनमा भारी कटौती भइरहेको छ तर सरकारको ध्यान यी विषयमा केन्द्रित हुन सकेको छैन । धान दिवस मनाएर अनि दही चिउरा खाएर मात्रै नेपालमा धान उत्पादन बढ्न सक्दैन भन्ने कुरा हेक्का होस् । सरकारले अव देशलाई धानमा आत्मनिर्भर बनाउने हो भने किसानलाई राहतदेखि कृषि यन्त्र, बीउ, मल सवैमा प्रोत्साहनको नीति ल्याओस् ।