© २०२३
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४ लाख ३८ हजार ८९६ सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार ३८.१९ प्रतिशत नन्ग्रेडेड अर्थात ११ कक्षामा भर्नाको लागि अयोग्य ठहरिएका छन् । २०८१ एसइई नतिजा हेर्दा २.८ भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीहरुको अनुपात अघिल्लो वर्षहरुमा भन्दा बढी देखिएको छ । गतवर्ष ३.२ जीपीए भन्दा माथि ल्याउनेको संख्या ३८.३७ प्रतिशत रहेकोमा अहिले यो ग्रेडका विद्यार्थी संख्या ८०.८७ प्रतिशत पुगेको छ । जीपीए १.६ भन्दा कम ल्याउनेको संख्या समेत गतवर्षको नतिजामा भन्दा कम देखिन्छ गत वर्ष ५२.४२ प्रतिशत विद्यार्थीहरु ननग्रेडेड अर्थात फेल भएकोमा यो वर्ष ३८.१९ प्रतिशत नन्ग्रेडेड छन् । यो नतिजा हेर्दा विद्यालय शिक्षामा सुधार हुन थालेको देखिन्छ ।

नेपालमा परीक्षा बोर्डको स्थापना भएपछिका साढे आठ दशकमा शिक्षा क्षेत्रमा धेरै नै प्रगति भएको छ । समुदायमा नपढे पछि परिन्छ भन्ने भावनाको स्थानीय बासिन्दाहरुको अग्रसरता, श्रमदान र लगानीमा विद्यालयहरु स्थापना र संचालन भैरहेका छन् ।. सरकार र अन्तर्राष्ट्रिय दातृ निकायहरुले विद्यालय शिक्षामा गरेको लगानीले गर्दा खासगरी अढाई दशक यता विद्यालयहरुको भौतिक अवस्था धेरै सुध्रिएको छ । व्यवसायकै रुपमा भएपनि निजी क्षेत्रबाट विद्यालय शिक्षामा ठुलो लगानी भएको छ । नेपालमा विद्यालयहरुको संख्या मात्र बढेको छैन, शैक्षिक पूर्वाधार सम्पन्न पनि भैरहेका छन् ।. शहरी र शहरोन्मुख क्षेत्रका विद्यालयहरुमा कम्प्युटर ल्याव, पुस्तकालय र विज्ञान प्रयोगशालाहरू प्रशस्तै देखिन थालेका छन् । २ दशक पहिलेसम्म विषयगत शिक्षक पाउन गाह्रो थियो तर अहिले यो अवस्था छैन । हिमाली र दुर्गम पहाडी क्षेत्रमा बाहेक अन्य क्षेत्रका विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकको पेशागत दक्षता वृद्धिको लागि तालिममा राज्यले ठुलो लगानी गरेको छ । शिक्षा मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको माध्यमिक तहमा अध्यापन शिक्षक मध्ये ९६ प्रतिशत भन्दा बढी शिक्षक तालिम प्राप्त छन् । यी तथ्यहरुलाई हेर्दा नेपालका विद्यालयहरुको अवस्था सुध्रिदै गएको देखिन्छ ।

सबै पक्षको प्रयासले गर्दा विद्यालयहरु सम्पन्न हुँदै गएपनि विद्यालय शिक्षाको गुणस्तर भने सुध्रन नसकेको गुनासो सबै क्षेत्रको छ । केही समयअघि प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाटै शिक्षकले नपढाएर नतिजा कमजोर आएको बताएपछि एसइई परीक्षाका कमजोर नतिजाका बारेमा अनेकौं टिकाटिप्पणी भएका थिए । विगतमा नतिजा कमजोर हुनुमा अभिभावक, शिक्षक, विद्यार्थी र सरकारी सरोकारवालाहरुले एक अर्कालाई दोषारोपण गर्दथे ।.अहिले राम्रो नतिजा आउँदा शिक्षकले त्यत्तिकै अंक दिएको, परीक्षा बोर्डले नम्बर थपेर धेरै जनालाई पास गराएको भन्दै टिप्पणी भैरहेका छन् ।

अहिले प्रधानमन्त्रीले आफ्नो मेहनतले गर्दा एसइई नतिजामा सुधार भएको भन्दै खुशी बाँडिरहेका छन् । प्रधानमन्त्रीले केही समय अघि अब ६० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण हुनेछन् भनी घोषणा गरेकोले यो वर्षको नतिजा गत वर्षको भन्दा पक्कै पनि सुधारिएर आउनेछ भन्ने अनुमान धेरैले गरेका थिए । अनुमान अनुसारकै नतिजा आएको छ । चैत्र– वैशाखमा शिक्षक आन्दोलन चलेको समयमा सामुदायिक विद्यालयहरु खत्तम भएका छन्, शिक्षकले पढाउन जानेनन्, कापी जाँच्न जानेनन् भनेर धेरै विद्वानहरुले दोष लगाइरहेका थिए । एक वर्षमा शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम आएर विद्यालयहरुमा उल्लेखनीय सुधार भएको छैन । यस्तो अवस्थामा शिक्षक–विद्यार्थीहरुको आन्तरिक प्रयासले मात्र अहिलेको नतिजा आयो होला भन्ने कुरामा विश्वास गरिहाल्न सकिदैन । अहिलेको नतिजामा सरकारको हस्तक्षेप रह्यो कि भन्ने आशंका धेरैलाई छ । अबका २÷४ वर्षहरुमा पनि सुधारोन्मुख नतिजा आएमा अहिलेको नतिजामा देखिएको छलाङलाई उपलब्धिमूलक भनेर प्रशंसा गर्नै पर्छ
समाज र सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि एसइई नतिजामा करिब ४० प्रतिशत विद्यार्थी फेल हुनु लाजमर्दो हो । शिक्षा क्षेत्रको लागि राम्रो संकेत होईन । विगतमा विद्यालयको भौतिक अवस्था कमजोर भएको र योग्य शिक्षकको व्यवस्था नभएकोले नतिजा राम्रो नभएको गुनासो गरिन्थ्यो तर अहिले त्यो अवस्थामा सुधार आएको छ । विद्यालयहरु समुदायकै प्रतिनिधित्व रहने स्थानीय सरकार मातहतमा आएका छन् । त्यसैले अब बिद्यालय राम्रो भएन वा शिक्षकहरु भएनन् भनेर उम्कन पाइदैन । एसइई नतिजालाई प्रभावकारी बनाउने हो भने समुदाय र सरकार शिक्षामैत्री हुनै पर्छ । यी पक्षहरुको सहयोग र खबरदारी भएमा एसइई परीक्षा मात्र नभएर देशकै शिक्षा क्षेत्रले काँचुली फेर्न सक्नेछ । र, अहिले आएको उपलब्धि दिगो हुनेछ ।