नवलपरासी,पश्चिम् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको पारिजात सामुदायिक वनको इको पार्कमा श्रमदान गरिएको छ ।
यो क्षेत्र पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको स्थल हो । प्राकृतिक सौन्दर्य र हरियालीले भरिपूर्ण यो पार्क स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना बोकेको उक्त पार्कमा सौन्दर्यिकरण का लागि सरसफाइ सहित व्यापक रुपमा श्रमदान गरिएको छ ।”गरे के हुँदैन “भन्ने अभियन्ता सहित जनप्रतिनिधि, स्थानिय सङ्घ संस्था योगा समुह ,महिला समुह ,खानेपानी सस्था ,जेसिस लगायतका संस्थाहरूको सहभागितामा पार्कलाई व्यवस्थित बनाउन श्रमदान गरिएको हो ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरप्रमुख १२ अभियान अन्तर्गत सम्भावित पर्यटकीय स्थलहरूलाई सामुदायिक सहभागितामा सौन्दर्यिकरण र सरसराइ गरिने बताए ।
यस सामुदायिक वनको इको पार्कमा सरसफाइ तथा मर्मतसम्भारका लागि स्थानीय बासिन्दाहरू श्रमदानमा जुटेका छन् । इको पार्कलाई अझ सुन्दर, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
श्रमदानमा पार्कभित्रका झाडी सरसफाइ, फोहोरमैला व्यवस्थापन, बिरुवाहरूको गोडमेल र पार्कका विभिन्न संरचनाहरूको मर्मतसम्भार लगायतका कार्यहरू गरिएका छन् ।
सामुदायिक भावना र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै गरिएको यस श्रमदानले पारिजात सामुदायिक वन इको पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा थप आकर्षित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यस्ता अभियानहरूले स्थानीय पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने तथा समुदायमा अपनत्वको भावना बढाउने अपेक्षा गरिएको छ ।