© २०२३
दाङ,१४ असार ।
मुक्त कमलरीहरूको अधिकार सुनिश्चितता र पुनः स्थापनाका लागि सशक्तीकरण परियोजना सुरु गरिएको छ । द एशिया फाउन्डेसन (लोटस रेजिलियन्स फण्ड) को आर्थिक सहयोगमा मुक्त कमलरी विकास मञ्चले उक्त परियोजना सञ्चालनमा ल्याएको हो ।
मञ्चका केन्द्रीय अध्यक्ष हिरामोति चौधरीले परियोजनाबाट दाङ, बाँके र बर्दियाका १ हजार ३११ जना मुक्त कमलरीहरू प्रत्यक्ष लाभान्वित हुने बताइन । लाभान्वित हुनेमध्ये दाङको लमही नगरपालिकाका ४२६, गढवा गाउँपालिकाका ३०३, बाँकेको कोहलपुर नगरपालिकाका ५२, बर्दियाको बार बर्दिया नगरपालिकाका १७६ र राप्ती सोनारी गाउँपालिकाका ३२६ जना मुक्त कमलरी रहेका छन् ।
चौधरीले परियोजनाले अझै परिचयपत्र नपाएका कमलरीहरूलाई पहिचान गरी परिचयपत्रका लागि पैरबी गर्ने र वितरणमा सहयोग गर्ने बताइन् । उनका अनुसार हाल लुम्बिनी प्रदेशमा ३ हजार ७३५ जनाले परिचयपत्र पाइसकेका छन् । दाङमा १ हजार ९४९ जनाले परिचयपत्र पाएका भए पनि ४२६ जनाको परिचयपत्र हस्ताक्षर नहुनाले वितरण हुन सकेको छैन । बाँकेमा ३३४ र बर्दियामा १ हजार ४५२ जनाले परिचयपत्र पाएका छन् ।
कार्यक्रम संयोजक सुबोध कुमार चौधरीले परियोजना जुन १ देखि अक्टोबर ३१, २०२५ सम्म सञ्चालन हुने जानकारी दिए । परियोजना लुम्बिनी प्रदेशको पाँच ओटा जिल्लामा हुने छ । परियोजनामार्फत मुक्त कमलरीहरूलाई परिचयपत्र वितरणमा सहयोग, नेतृत्व विकास, वकालत तालिम, सामुदायिक अन्तरक्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग संवाद, प्रदेशस्तरीय संवाद जस्ता गतिविधि गर्न सहयोग गर्ने छ ।
२०७० सालमा सरकारले कमलरी प्रथा अन्त्यको घोषणा गरे पनि अझै पनि धेरै मुक्त कमलरीहरूले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । जसका कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरबाट वञ्चित भएका छन् । समस्यामा परेका कमलरीहरूलाई यो परियोजनाले सहयोग गर्ने संयोजक चौधरीले बताए ।।।