© २०२३
टिका बस्नेत, दशरथ घिमिरे र विष्णु घिमिरे तीनै जना पत्रकार हुन् । दाङबाट उनीहरू बुटवल आइपुगेपछि ट्राफिक चोकमाथि पाल्पा–बसपार्कमा भेट भो । साथमा थिए बटौलीका पत्रकार रामप्रसाद आचार्य पनि । उनीहरूकै मोटरमा थपिएँ म पनि । मोटर कुद्यो एकोहोरो । पाल्पाको बाँसटारी पुगेपछि दाहिने, पूर्वतिर मोडियौं र करिव पाँच किलोमिटरको दूरी नाप्यौं । खासमा हामी पत्रकार यमबहादु र( मिलन) की आमाको मृत्युमा शोकाकूल परिवारलाई समवेदना दिन गएका थियौं । पाल्पा माथागढी वडा नं.३ को सराई बजारनिर ।
मिलनलाई समवेदना
२०८२ असारको ९ गते सोमवारका दिन हामी दिउँसो डेढ बजेतिर मिलनको पहाड घर पाल्पामा पुग्दा पानी फ्यार्र पर्यो । दुई भाइहरू किरियापुत्रीका रूपमा भेटिए । हातमा उनीहरूका लौरा थिए । सायद कुकुर, बिराला वा अन्य जनावरले छुने डरले होला । मुख्यमन्त्री ज्यूको शोक पत्र भित्तामा अड्याएपछि मृतक आमाको फोटोमा पँहेलो टीका अर्पण गरेर नमस्कार गरियो । मिलनले आमाको अन्तिम सास भेट्न नपाएको कुरा सुनाउँदा मनै कुँडियो । मिलन, साथीहरूसँग ढोरपाटनको बुकी यात्रामा थिए । फोन सम्पर्क हुन नसकेको कारण आमाको अन्तिम सास र काख भेट्न उनले भ्याएनन् ।
प्रसादी आयो, ग्रहण गरियो । मुख्यमन्त्री ज्यूका प्रेस संयोजक दशरथले मुख्यमन्त्रीको कार्यव्यस्तताको कारण शोकपत्र लिएर आफूहरू हाजिर भएको सुनाए । मिलनले मुख्यमन्त्री ज्यू नै आउने कुरामा आफू आशावादी रहेको कुरा दशरथलाई सुनाए । त्यतिबेला चियामा कागती राखेर रामप्रसादले सुरुप्प पारे । त्यतिञ्जेल टीकाले सुन्दर अक्षरमा शोक पुस्तिकामा भावपूर्ण समवेदना लेखे । बुटवलका साथी केशवसँग भेट भो । उनीहरू पानीको डरले भट्भटेमा सुईकिए छिटै । यात्रामा जाँदा आमा गुमाउनु परेको तीतो पीडालाई बिर्सन हाम्रो उपस्थितिले मिलनलाई शक्ति दिए त हुन्थ्यो तर सम्भव कमै देखें । तैपनि हामीले आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि र मिलनको परिवारमा समवेदना प्रकट गरेका थियौं । मिलन, नामलेमात्र मिलन होइन, स्वभावले नै मिलनसार छन् । अकोराब, फोनिज, प्रेस चौतारीको नेता हुन् ।
रेडियो समावेशीमा स्टेशन मेनेजर भएको बेलादेखि चिन्छु । यतिबेला लुम्बिनी प्रदेश सरकारले गठन गरेको सूचना समन्वय परिषदको अध्यक्ष समेत छन् । दुःखको यो घडीमा उनीसँग धेरै बोल्ने आँट पनि आएन । विष्णुले श्रद्धाञ्जलि दिएको बेला फोटो खिचे । हामी हिड्ने तरखर गयौं । बाटोमा राजेश अर्यालसँग जम्काभेट भएको थियो तर बोल्ने अवसर मिलेको थिएन । उनी व्यवस्थापन समितिको अध्यक्ष भएको विद्यालय दमकडा मावि पुग्ने रहरले साथ नछाडेपछि फोन गरेरै उतै विद्यालय पस्ने सल्लाह भयो मोबाईलमा । त्यसपछि मिलनसँग विदा भइयो । १३ दिनमा १३ गते नै उम्किने कुराको जानकारीपत्र समेत दिए उनले ।
दमकडा माविमा हाजिर हुँदा
पाल्पा तानसेन नगरपालिका वडा नं.९ मा पर्छ दमकडा । सहरोन्मुख गाउँ । सरकारी भाषामा यो ठाउँ नगरपालिकाभित्र रहेपछि सहर नै हो । तर म यस ठाउँलाई सहरोन्मुख गाउँ भन्न रुचाउँछु । हावापानी, परिवेश, रहनसहन, संस्कार, संस्कृति र सबै कुराले अग्र्यानिक गाउँ नै हो दमकडा । तर आज यहाँ पक्की बाटो छ, बिजुली, धारा, नेट, विद्यालय, क्याम्पस, बजार, स्वास्थ्य चौकी आदिको उपलब्धताका कारण सहर बनिसकेको छ । सहरमा पाइने सुविधा के छैन र ? तरपनि मलाई किन किन यो ठाउँलाई गाउँ भन्न मनपर्छ । यसलाई अचेल म सहरोन्मुख गाउँ भन्न मन पार्छु ।
यहीं छ २०१३ सालमा स्थापित दमकडा नमूना माध्यमिक विद्यालय । सम्वत् २०७५ सालमा हो, यो विद्यालयले नमूना माविको तक्मा भिरेको । धेरैलाई यो तक्मा भिरुँम कि फालुँम भइरहेको वर्तमान अवस्थामा दमकडा नमूना माविले अर्को तक्मा भिर्न सक्ने शैक्षिक एवम् भौतिक सामथ्र्य जुटाइसकेको छ । विद्यालयको भौतिक स्वरूप जति सुन्दर छ,त्योभन्दा उत्तम त विद्यालयको नतिजा नै छ । एसईई होस् वा एसएलसी दुबै तहमा दमकडा उत्कृष्ट छ । त्यसैले त थुप्रैपटक यो विद्यालयले पुरस्कार थापिसकेको छ । प्रशंसा, सम्मान, बधाई, धन्यवाद् ग्रहण गरेर आफूलाई उन्नत र प्रगतिपथमा लम्काइ सकेको यो विद्यालयमा ३६ जना सरकारी तलवभत्ता खाने शिक्षकहरू छन् । नीजिस्तरमा २६ जना शिक्षकलाई विद्यालयले वार्षिक आधा करोड तलवभत्तामा खर्चिनुपर्छ । यो कसरी सम्भव छ ?
विद्यालयको आफ्नै ५० रोपनी जग्गाभित्र छात्राबास छ । आम्दानीका लागि स्थानीयहरूलाई केही जग्गा भाडामा दिइएको छ । शिक्षकलाई तलब खुबाउने आधारमध्ये यो पनि एउटा बाटो हो । महायज्ञबाट प्राप्त रकमलाई कर्जामा लगाई आम्दानीको बाटो बनाइएको छ । अभिभावक सहयोगबाट समेत विद्यालयलाई राहत मिलेको छ । सहयोगीहरूको चन्दाले समेत विद्यालय उँभो लाग्ने अवस्था छ । विद्यालय चलिरहेको ठाउँमा १० रोपनी जग्गा रहेछ ।
विद्यालयसँग दुईवटा पँहेला बस रहेछन् । अझै एउटा बस प्राप्त भएमा उत्तम हुने देखियो । राष्ट्रिय योजना आयोगले सहयोग गरेपछि विद्यालयको अनुहारमा चमक आएको रहेछ । दमकडा आवसीय शिक्षण योजनाका लागि विनियोजित ८ करोड १६ लाखमध्ये ६ करोडको काम सम्पन्न भयो । बाँकी रूपैयाँ फिर्ता पठाउनु परेको कुरा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश अर्यालले सुनाए । जुन पैसाले पूर्वाधार निर्माणमा सहयोग मिलेको रहेछ । छात्रबास गराउनका लागि लुम्बिनी प्रदेशका संस्थाक मुख्यमन्त्री शंकर पोखरेलको सहयोगमा ७० लाख बजेट विनियोजन भएको कुराले धेरै राहत मिलेको विद्यालयका प्रअ मोहन सरले सुनाउँदै थिए ।
ओजस्वीसँगको भेट
दमकडा माविमा यतिबेला हजारको संख्यामा विद्यार्थी छन् । यहाँ विज्ञान, सिभिल इञ्जिनियरिङ्ग, व्यवस्थापन र शिक्षा संकायमा पढाई हुँदै आएको छ । विद्यार्थी टनाटन छन् । सो विद्यालयमा वृत्तिविकास प्रयोगशाला छ । जहाँ विद्यार्थीका रुची, क्षमता, दक्षता परीक्षण गरिन्छन् । परामर्श हुन्छ । इच्छा लागेका विषयमा विद्यार्थीले पढ्न पाउने अवसर उपलब्ध गराइन्छ । नौलो लाग्यो । विज्ञान, गणितका लागि व्यवस्थित प्रयोगशाला देखियो । स्टेम प्रयोशाला रहेछ । सुविधा सम्पन्न पुस्तकालय भेट्यौं । सातामा एकदिन, एकघण्टी यही पढ्नुपर्ने चलन रहेछ । नृत्य गर्ने गतिलो स्थान रहेछ । भोक लाग्दा विद्यालयभित्रै चमेना गृह, त्यो पनि सुविधा सम्पन्न रहेछ । सबै कोठाको चाँबी खोल्दै विद्यालयका प्रअ मोहन सरले देखाए । उनका पछाडि कुनै सहायक कर्मचारी थिएनन् । हामीहरूले हेर्यौं, देख्यौं । मज्जा मान्यौं ।
धेरै कुरा सिक्न, जान्न पाएकोमा गौरव गर्यौं । विद्यालयकै आफ्नो रेकर्डिङ्ग स्टूडियो रहेछ । नानीबाबुहरूका लागि नानीबाबुहरू कार्यक्रम चलाएर शिखरमा पुगेकी कार्यक्रम सञ्चालक छिन् ओजस्वी आचार्य । ओजस्वीको ओजपूर्ण उपस्थितिले विद्यालयको नौलो पहिचान बनेको छ । दमकडा माविकी हीरा हुन् ओजस्वी । विद्यालयले उनलाई शैक्षिक सम्पत्तिको रूपमा स्वीकार गरेको छ । उनको क्षमता, योग्यता, कला र सीपलाई मलजल गर्ने उर्वर भूमिका दिएको छ विद्यालयले । अवसर दिएको छ । अवस्था सिर्जना गरेको छ । उनलाई भेट्यौं । फोटो खिच्यौं । सामान्य भेट र भलाकुसारी गयौं । उनको अध्ययन समयलाई उच्च सम्मान गर्दै फोटो खिचेर बिदा लियौं उनीबाट ।
राजेशको इच्छा : डाँडाडुममा होमस्टे
डाँडाडुममा होमस्टे सञ्चालन गर्ने धोको रहेको तानसेन वडा नं.९ का वडाध्यक्ष समेत रहेका राजेश अर्यालले बताए । सो गाउँमा होमस्टे चलाउन सकेमा गाउँका मान्छे गाउँमै बस्थे, आम्दानी बढ्थ्यो, गाउँमा नयाँ मानिसहरूको आगमन हुने थियो । होमस्टे गाउँको नाउँले डाँडाडुम गाउँको नयाँ परिचय बन्थ्यो । राजेशले त्यसो भनिरहे । मैले सक्दो सहयोग गर्ने वचन दिएँ । पत्रकार महासंघ पाल्पाको अध्यक्ष भइसकेका राजेश अर्याल टाठा छन् । आफ्नो वडाको विकास निर्माण, मानवीय विकासका लागि पहल र शैक्षिक उन्नयनका लागि प्रयास गर्ने जिम्दा मान्छे हुन् ।
राजनीतिक भविष्य बोकेका तन्नेरी राजेशले आफूलाई अब्बल बनाउँदै लगेका छन् । विद्यालयलाई सबैकामाझ नौलो परिचय दिएका छन् । प्रअ मोहन सापकोटा सरसँग राजेशको तादम्यता मिलेको देखियो । दृष्टिविहिन बाबुनानीहरू समेत सोही विद्यालयमा पढ्ने रहेछन् । तीनजना दृष्टिविहिन शिक्षकहरूले आफ्नो शैक्षिक दक्षता प्रदर्शन गरिरहेको समाचारले मन खुसी भयो ।
विद्यालयकै क्यान्टिनमा तात्तातो सुख्खारोटी खाई, कफी पिएपछि हामी मदनपोखरामा उमा अर्यालको नारी सेनेटरी उद्योग हेर्न पुग्यौं । दोभानमा आइपुगेपछि साथीहरूले सुकुटी मिठरी खाए । विष्णुले बुटवल झरुञ्जेल बाटाभरि सुकुटीको बयान गरे । मीना श्रेष्ठको कलात्मक पाक्वकलाले सुकुटीप्रेमीहरूलाई आकर्षण गरेकै भेट्छु । बुटवल आइपुग्दा साँझको पाँच बज्दैथियो । रामप्रसाद र म बुटवलको पाल्पा बसपार्कनिरै झरियो । साथीहरू पत्रकार भरत केसीको जन्मदिनमा केक् काट्न पुगेछन् । साँझ ६ बजे उनीहरूले बुटवल छाडेको खबर धानखोला पुगेपछि थाहा पाइयो । एकदिने नबिर्सिने यात्राले नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथीहरू र नयाँ कुरा सिक्ने अवसर दिलायो ।