Butwal Today

लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि साइनो केन्द्रद्वारा प्रहरीलाई परीक्षण किट प्रदान

१४ असार २०८२, शनिबार
अ+
अ-

बुटवल, १४ असार ।

लागुपदार्थ दुव्र्यसन नियन्त्रणविरुद्ध स्थापित संस्था साइनो केन्द्र रुपन्देहीले लागुऔषध प्रयोगकर्ताको पहिचानका लागि प्रहरीलाई परीक्षण किट हस्तान्तरण गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच केन्द्रले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई संयुक्त रुपमा लागुऔषध परीक्षण किट हस्तान्तरण गरेको हो ।

केन्द्रका अध्यक्ष डा. कृष्ण खरेलले उक्त परीक्षण किट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मालाई हस्तान्तरण गरेका हुन् ।

परीक्षण किट प्रदान गर्दै केन्द्रका अध्यक्ष डा. खरेलले लागुऔषध दुव्र्यसनी बढिरहेको र यसको न्युनीकरण जरुरी भैसकेको भन्दै प्रहरीलाई चेकजाँचमा सहयोग पुगोस् भनेर किट प्रदान गरिएको बताए । लागुऔषधले व्यक्तिलाई मात्र नभई परिवारलाई समेत तहसनहस बनाउने र यसको प्रयोगले स्वास्थ्य मात्र बिग्रने नभै सामाजिक प्रतिष्ठा गुम्ने र भविष्य नै अन्धकारमा पुग्ने भएकाले केन्द्रले उनीहरुलाई काउन्सिलिङ गरी उपचार गरिरहेको बताए ।

परीक्षण किट ग्रहण गरेपछि प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले कुनै विवाद गरेर नियन्त्रणमा लिनुपर्ने युवा र शङ्कास्पदलाई परीक्षण गरेर दुव्र्यसनी रोक्ने योजनाका प्रहरीले किटको प्रयोग गर्ने बताए ।

प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले किटको प्रयोग गरेर लागुऔषध प्रयोगकर्ता हो या होइन भनेर यकिन गर्न सहज हुने बताउँदै किटको प्रयोगले जिल्लामा लागूऔषध प्रयोगकर्ताको दर घटाउन सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानु पाण्डेलगायत अन्य प्रहरी अधिकारीहरु पनि सहभागी थिए ।

त्यस अवसरमा साइनो केन्द्रका कार्यक्रम निर्देशक उपेन्द्र श्रेष्ठ र सचिव विमल ढकालले संस्थाले लागुऔषध प्रयोगकर्तालाई गरिरहेको उपचार पद्धतिबारे जानकारी गराएका थिए ।

२०८१ माघ १ गतेदेखि रुपन्देहीको तिलोत्तमास्थित मंगलापुरमा सञ्चालनमा आएको संस्थाले छोटो अवधिमै २८ जना लागुऔषध प्रयोगकर्ताको उपचार गरी घर फर्काएको छ । अहिले भने केन्द्रमा १४ जनाले उपचार लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?