© २०२३
गुल्मी, १४ असार ।
गाउँघरमा ससाना काम गर्नु पर्दा पनि सरकारकै मुख ताक्ने हाम्रो परम्परा छ । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेमा भने अर्काको मुख ताक्ने परम्परालाई चिर्दै सामाजिक कामका लागि करोडौँ लगानी गरेर गाउँमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । स्थानीयहरूले गाउँको सामाजिक विकासमा पु¥याएको सहयोग र योगदान भने यति बेला जताततै निकै उदाहरणीय बनेको छ ।
त्यही भार्सेको देउराली डाँडामा भर्खरै निर्माण गरिएको बौद्ध स्तूप यसको ज्वलन्त नयाँ उदाहरण पनि हो । गाउँमा जन्मिएर स्वदेश तथा परदेशमा रहेका भार्सेलीले पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले दुई करोड ५० लाख रुपैयाँको लागतमा बौद्ध स्तूप निर्माण गरेका छन् ।
भार्से स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीका अनुसार करिब आठ सय ५० जना व्यक्तिले बौद्ध स्तूप निर्माणको अभियानमा सहयोग गरेका छन् । बौद्ध स्तूप निर्माणको परिकल्पनाकार समेत रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी एक्लैले एक करोड १५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको बताए । हाल हङकङमा बस्दै आएका बुढाथोकीले भार्से र आसपासका एक दर्जनभन्दा बढी शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
स्थानीय सरकार र पर्यटन कार्यालय भैरहवाबाट विभिन्न समयमा गरेर २५ लाख रुपैयाँ बराबरको काम भार्से देउरालीमा भएका छन् । बुढाथोकीले अहिले पर्यटकको आकर्षण र भार्सेको प्रशंसा पाउँदा बौद्ध स्तूप र पर्यटकीय संरचना निर्माणका बेला पाएको दुःख बिर्सेको बताए । स्तूप निर्माणका लागि भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँका प्रवासीले आर्थिक सहयोग गरेका छन् ।
बौद्ध स्तूपसँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फनपार्क निर्माण गरिएको छ । भार्सेबाट काठमाडौँमा बसोबास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तूप र फनपार्कको डिजाइन गरेका हुन । स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका कोषाध्यक्ष सुजन गलामीका अनुसार पार्कमा अहिले टिकटक, लभ प्रतीक र चन्द्रमा बनाइएको छ ।
सदरमुका तम्घासबाट उक्त क्षेत्रमा पुगेका बिष्णु बलाल त्यहाँको प्राकृतिक सौन्द्रर्यता हेर्दा आफू निकै लोभिएको बताए । “भार्से त्यसै पनि निकै सुन्दर रमणीय क्षेत्र हो त्यसैमा पनि अहिले देउराली डाँडामा निर्माण गरिएको बौद्ध स्तूपले झनै सुन्दर आकर्षण बनाएको रहेछ,” उनले भने । भार्सेको देउराली डाँडामा भर्खरै निर्माण गरिएको बौद्ध स्तूप हेर्न र त्यहाँको मनोरम दृश्यहरूको अवलोकन गर्न यति बेला आन्तरिक एवं वाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।