Butwal Today

कांग्रेसले १३ करोड बराबरको जग्गा र भवन खरिद गर्दै

१३ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय विस्तार गर्ने तयारीस्वरूप ललितपुर सानेपास्थित १९ आना जग्गा खरिद गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय रहेको सानेपा परिसरलाई अझ व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले कार्यालयअगाडिको उक्त जग्गासहित सोही स्थानमा रहेको तीन तले घर पनि खरिद गर्न लागिएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र भवन खरिदका लागि कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा आज जग्गाधनीसँग औपचारिक सम्झौता गरिएको छ। सम्झौताअनुसार ५० लाख रुपैयाँ बैनासहित १ वर्षभित्र पास गरिने व्यवस्था गरिएको छ।

कुल लागत करिब १३ करोड रुपैयाँ अनुमान गरिएको यस सम्पत्ति खरिदका लागि पार्टीले विभिन्न तहमा उठाइएको लेवि तथा शुभेच्छुकहरूको सहयोगबाट रकम संकलन गर्ने योजना बनाएको छ। मुख्यसचिव पौडेलले सबैको अपनत्व रहने गरी खर्च व्यवस्थापन गरिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?