Butwal Today

१६० जना प्रतिवादीविरुद्ध कर चोरी र विदेशी विनिमय अपचलनमा मुद्दा दायर

१३ असार २०८२, शुक्रबार
अ+
अ-

ललितपुर ।

राजस्व अनुसन्धान विभागले पछिल्लो ११ महिनामा राजस्व चोरी, विदेशी विनिमय अपचलन, र भन्सार अनियमितताजस्ता गतिविधिमा संलग्न रहेका १६० जना प्रतिवादीविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ। विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चुहावट नियन्त्रणका क्रममा यी मुद्दाहरू अघि सारिएको जानकारी दिएका हुन्। उनले आफूले १० महिनाको कार्यकाल पूरा गरिसकेको उल्लेख गर्दै यो अवधिमा विभागले सुशासन कायम राख्ने उद्देश्यसहित कानुनी कारबाही तीव्र बनाएको बताए।

विभागले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म उच्च अदालतमा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदाबीसहित अभियोगपत्र दायर गरिसकेको छ। सो मध्ये २ अर्ब ५९ करोड रुपैयाँ राजस्व विगो र सोही बराबरको जरिवाना समावेश छ। विभागका अनुसार, आकस्मिक निरीक्षणका क्रममा भन्सार चोरी पैठारी, ट्रान्सपोर्टमार्फत ढुवानी भएका सामानहरूको मूल्याङ्कन र वर्गीकरणमा देखिएको अनियमितता तथा गडबडीका कारण १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरिएको छ। त्यसमध्ये ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व तथा भन्सार विभागमार्फत असुल गर्न सिफारिस गरिएको छ।

विभागले अनुसन्धान र मुद्दा दायर गर्दा पूर्ण रूपमा तथ्य र प्रमाणमा आधारित प्रक्रिया अपनाएको जनाएको छ। सूचनाको गहिरो विश्लेषणपछि मात्रै कारबाही अघि बढाइएको भन्दै विभागले निष्पक्षता र वस्तुनिष्ठताको आधारमा काम भइरहेको स्पष्ट पारेको छ। यस्तै, विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानमा मात्र १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएको छ, जसमा ५ अर्ब रुपैयाँभन्दा बढीको मागदाबी गरिएको छ। विभागले पछिल्लो समय आर्थिक अपराधविरुद्ध कडाइ गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?