Butwal Today

पाखो बारीले बिर्सायो खाडीको दुःख

१३ असार २०८२, शुक्रबार
अ+
अ-

पाल्पा, १३ असार ।

जिल्लाको तिनाउ गाउँपालिका बिस्कुन डाँडाका चन्द्र बहादुर ढाहालाई व्यावसायिक कृषक बनिएला भन्ने कल्पना समेत थिएन । उक्त ठाउँमा संभवत उनी मात्र एक्ला कृषक हुन्, जसले ५० रोपनी जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । उनको अहिले पहिचान सँगै परिचय पनि बदलिएको छ ।

गाउँका भिरपखासँग मितेरी बनाएका चन्द्र बहादुरको परिवार गरिबीले थिचिएको थियो । गाउँ बस्तीमा रोजगारीको अवसर नहुँदा, आफनै गाउँमा गाउँकै प्रयासमा नवीकरणीय ऊर्जाको लगानीमा आफ्नो गाउँमा सञ्चालित सुती खोला जलविद्युत आयोजनाको अपरेटर बन्दा आफ्नो रोजगारी सँगै आफ्नो भविष्य यसमा जोडिएला भन्ने कल्पना थियो तर यो कल्पना अधुरै रहेको उनी आफ्नो अनुभव सुनाउँछन् ।

पाखो बारीमा उब्जनी नहुने, जल विद्युत् आयोजनाको अपरेटरको जागिरे जीवनले परिवारको आर्थिक अवस्था धान्न धौ धौ भएपछि १ लाख रुपैयाँ खर्चिएर वैदेशिक रोजगारीका लागि मलेसियाको औषधी कम्पनीमा काम गर्न पुगेका उनले घर खर्च गर्दा गर्दै रकम बचत गर्न सकेनन् ।

जहाँ गए पनि भाग्यसँगै जाँदो रहेछ भने जस्तै मलेसियाको बचत सुखद भए पनि घरको आर्थिक उन्नति भने भएन । केही समयपछि औषधि पसलमा काम गर्दा आफूलाई टन्सिल भएका कारणले २०७२ सालमा घर फर्किनु परेको र पुरानै पेशा कृषि मै आश्रित हुन भन्दा अरू विकल्प नै थिएन । गाउँमा फर्किएपछि कृषिलाई नै मुख्य पेशा बनाए पनि मौसमी तथा बेमौसमी तरकारी खेतीको लागि आवश्यक जमिनमा सिँचाइको सुविधा थिएन ।  २ वटा गाई पाली दूध बिक्री गर्न लागेका चन्द्र बहादुर ढाहालाई विदेशमा टन्सिल भयो । त्यही टन्सिलका कारणले स्वदेशमा व्यवसायीक कृषक बनायो ।

तिनाउ खोलाको किनार कहिले खोला हिड्ने कहिले खेती, कहिले बाँझो जमिनमा उनको आँखा लाग्यो । दिनहुँ दूध लिएर माथा गढी गाउँपालिकाको सराइमा आउँदा, तानसेन नगरपालिकाको खुत्रुके चौर नजिकको तिनाउ खोलाको किनारको जमिन मन प¥यो । तरकारी खेती गर्ने मन मनै योजना बनाए । खोज्दै जाँदा ४ जनाको जमिन रहेछ । फरक फरक समयमा ४ जनासँग वार्षिक रूपमा १ लाख १० हजार बुझाउने गरी १० वर्षको लागि जमिन भाडामा लिएको सम्झौता भयो ।

पहिलो वर्षमा नै २० लाख रुपैयाँ बराबरको दूध तरकारी बिक्री गर्न सफल भएको उनी बत्ताउँछन् । ५ वर्षको समय बित्यो अव ५ वर्ष बाँकी रहेको छ । यो अवस्थामा सम्म आइपुग्न निकै मेहनत गर्नु परेको छ । जमिन जोत्न मात्र वार्षिक १ लाख रुपैयाँ खर्च हुन्छ । साथमा पैसा थिएन । कृषि विकास बैङ्कले पत्याएन । मुक्तीनाय विकास बैङ्क बाट महड्डो व्याजमा कर्जा लिनु प¥यो । ४ बटा भैँसी, २ वटा गाई सहित मौसमी तथा बेमौसमी तरकारी खेती गर्न थालनी गरे । अहिले २ जना कामदारले दैनिक ५ सय रुपैयाँका दरले बाह्रै महिना रोजगारी पाएका छन् ।

कृषकले उत्पादन गरेको उत्पादित बस्तुको बजारीकरण सहज भएको छैन् । बिउ बिजन महड्डो हुँदै गएको छ । यस पटक फर्सीको बिउ किन्दा ४० हजार खर्च भयो । ६० हजार रुपैयाँ बराबरको साग बिक्री भयो अझ त्यति मूल्य बराबरको बिक्री हुने उनी बताउँछन् । उत्पादित बस्तु २५ प्रतिशत जति घरैबाट बिक्री भएको र बाँकी ७५ प्रतिशत तानसेनको सहकारी मार्फत बिक्री गर्दा पनि आफ्नो र भाइको परिवार राम्रो सँग चलेको छ ।

बैङ्कको किस्ता अन्तिम अन्तिम तिर पुगेको बताउने चन्द्रबहादुर भन्दछन् । अब आउने दिनमा केरा र मेवालाई प्रवर्द्धन गर्ने योजना छ । व्यावसायिक कृषकलाई स्थानीय सरकारले सहयोग गर्ने भन्ने गरे पनि नजिकको सरकार भनिने स्थानीय सरकार आफूबाट टाढा रहेको छ । यस वर्ष कृषि ज्ञान केन्द्र र प्रधान मन्त्री आधुनिकीकरण परियोजनाले सहयोगको हात अगाडि बढाएको उनी बताउँछन् ।

मेहनत गरे कृषिबाट भविष्य उज्यालो बनाउन सकिन्छ तर तलदेखि माथिसम्मका सरकारले कृषिको परिभाषा बुझेका छैनन् । उनीहरूको प्राथमिकतामा कृषि कहिल्यै पनि परेन । मल, बिउमा अनुदान कम व्याजमा ऋण भन्ने त चुनावी भाषण मात्र भयो । सरकारले कृषिलाई प्राथमिकतामा राख्यो भने युवाको रोजाई खाडी नभएर बाँझो जमिन हुने बताउने उनी आफ्नो जीवनको अन्तिम सम्म पनि कृषि मै रमाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?