© २०२३
काठमाडौं ।
नेपालमा एचआईभी/एड्स संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको सरकारी तथ्यांकले देखाएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको विवरणअनुसार, यो संक्रमण मुख्यत: जोखिम समूहमा सीमित देखिएको छ। ती समूहमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष , लैङ्गिक अल्पसंख्यक (ट्रान्सजेण्डर), महिला यौनकर्मी, सुई प्रयोगमार्फत लागुऔषध सेवन गर्ने व्यक्ति, आप्रवासीहरू र जेलमा रहेका व्यक्तिहरू रहेका छन्।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाका अनुसार, एचआईभी संक्रमण पुरुषहरूमा महिलाभन्दा धेरै देखिएको छ। हाल नयाँ संक्रमणको वार्षिक दर ६१४ रहेको छ भने एड्सका कारण मृत्यु हुनेको संख्या ५६९ पुगेको छ। त्यस्तै, एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २२७ रहेको छ।
विगतमा गरिएको अध्ययन अनुसार, नेपालमा १ लाख १५ हजार ९१९ जना महिला यौनकर्मी, ७७ हजार ३४० जना , ३२ हजार ८९५ जना ट्रान्सजेण्डर, २७ हजार ८३९ जना जेलमा रहेका व्यक्ति र ४४ हजार ३५० जना सुई प्रयोगकर्ता जोखिम समूहमा पर्छन्। यिनै समूहमा एचआईभी संक्रमणको दर उच्च देखिएको हो।
कार्यक्रममा विज्ञहरूले हाल नेपालमा निःशुल्क परीक्षण साधनको अभाव, सेवा विस्तारमा अवरोध र दातृ निकायको अत्यधिक निर्भरता जस्ता कारणले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न कठिन हुने बताएका छन्। जोखिम समूहमा केन्द्रित स्वास्थ्य सेवा, शिक्षा र सचेतना कार्यक्रमलाई अझ प्रभावकारी नबनाएसम्म संक्रमण रोकथाम चुनौतीपूर्ण हुने उनीहरूको धारणा छ।