© २०२३
गुल्मी, १३ असार ।
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना शक्त बिरामी परेका छन् । बिरामी पर्नेहरूमा मुसिकोट नगरपालिका –४ अन्तरगत दिगामचौर निवासी ६८ वर्षीय फुलमाया कुमाल, ७६ वर्षका थम्मन बहादुर कुमाल र ३६ वर्षीय गिता कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहीनायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिएका छन् ।
बिहीबार दिउसोे जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि राती नै उनीहरूलाई टाउको दुख्ने रिंगाटा लाग्ने र बान्ताहुने जस्ता लक्षण देखिएको बताइएको छ । बिरामी परेका तिनै जनालाई गए राती नै उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ गए राती नै ईन्द्रेगौडा प्रहरी पोष्टबाट प्रहरी हबल्दार कृष्ण मोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।