© २०२३
विराटनगर ।
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरद्वारा प्रस्तुत गरिएको बजेटलाई बहुमतले स्वीकृत गरेको हो। बजेटमा चालु खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (५२ प्रतिशत) र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न राजस्व स्रोत पहिचान गरेको छ। आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटमार्फत १२ अर्ब ३९ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमार्फत ८ अर्ब ९८ करोड रुपैयाँ संकलन गर्ने योजना छ। यसबाहेक सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिनेछ। बजेटमा अपुग देखिएको ३ अर्ब १३ करोड रुपैयाँ भने नगद मौज्दातबाट पूर्ति गरिने उल्लेख गरिएको छ।
प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ। साथै, आगामी वर्षमा ५.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य समेत बजेटमार्फत लिइएको छ। बजेट पारित भएसँगै अब सरकारलाई आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्न बाटो खुलेको छ।