ट्रेंडिंग:

>> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

अन्तरजातीय विवाहकै कारण घरनिकला

१३ असार २०८२, शुक्रबार
१३ असार २०८२, शुक्रबार

बझाङ, १३ असार ।

असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको, बिना झ्यालको एक कोठे टहरो । जस्ताले छाएको होचो अनि साँगुरो खोपीभित्र घामको रापले उखरमाउलो गर्मी छ । सकसलाग्दो यो काल कोठरीभित्र खलखल पसिना काढ्दै ओत लाग्दै छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु । आफ्नो नाममा नङमा लाउने माटो पनि नभएको उनी काकी नाता पर्ने पार्वती परियारले ओत लाग्न दिएको यो टहरोलाई सुविधा सम्पन्न दरबार मान्न बाध्य छिन् । सहिद लखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी २१ वर्षीया मनिकाको आशा र भरोसाको त्यान्द्रो एक महिने छोरा यही टहरोभित्र हुर्कँदै छ । जुन शिशु गर्भमा आएदेखि आफू पतिबाट र घरबाट लखेटिइन्, माइतीबाट पनि एक्लिइन्, उनै शिशुलाई उनले गत जेठ १० गते गोरखा अस्पतालमा जन्माएकी थिइन् ।

“अनि बाबुको नाम चाहिँ के राखिदिनुभयो त ?”, यो प्रश्नले मनिकालाई झन् भारी चोट दियो । उत्तर दिन नसकेर छाँगाबाट खसेजस्तै भइन् र फेरि सम्हालिँदै भनिन्, ‘खोइ दिदी, बाबु एक महिनाको भइसक्यो तर नाम के राख्ने केही सोचेकी छैन । न्वारान गरेको भए पो नाम राख्नु ।” मनिकाले २०८० साल मङ्सिरमा धादिङको गजुरी गाउँपालिका–२ छेपाङका २३ वर्षका मिलन श्रेष्ठसँग बिहे गरेकी थिइन् । अन्तरजातीय विवाह भएकाले मिलनको घर परिवारले सहजै स्वीकार गर्ला भन्ने आशा मनिकालाई थिएन । “तपाईँ नेवारको छोरो, म दमाइकी छोरी । तपाईँको घरपरिवारले मान्दैन, नबोलौँ भन्थेँ म । उ (मिलन) भने साह्रै जिद्दी, मलाई फकाएर, घुक्याएर अनि एक पटक त तीन तले घरको छतबाट हाम्फालेर माया जालमा फसायो”, मनिकाले भनिन्, “जीवनमा कहिले कसैको माया नपाएकी म, उसको कुरामा सजिलै फँसिहालेँ । उसले मलाई घरमा बाहुनी हो भनेर धुमधामले भित्र्यायो ।

इष्टमित्र, छरछिमेक बोलाएर भोजभतेर पनि ग¥यो । मैले नढाँटौँ भनेकी थिएँ तर उसले बिहे भइसकेपछि जसरी पनि मान्छन्, चिन्ता नगर भन्थ्यो । मैले पनि उसले भनेजस्तै गरेँ ।” बिहेपछि उनीहरू चितवनको कार्य थलो फर्किएका थिए । उनीहरू दुवै जना चितवनको भरतपुर महानगरपालिका–१ गोद्राङस्थित कोकाकोला फ्याक्ट्रीमा काम गर्दथे ।
“हामी चितवन आएपछि मिलनको घरमा मेरो जात थाहा भएछ । मिलनको आमा–बाले हामीलाई फोन गरेर तिमीहरू म¥यौँ, अब यहाँ नआउनु भन्नुभयो । त्यसपछि उसको घर जाने कुरै भएन”, मनिकाले भक्कानिँदै भनिन् । उनलाई आज पनि त्यही ग्रहण लागेका दिनहरूको याद आयो । विसं २०७५ मा १४ वर्षको उमेरमा गाउँको एक जना चिने जानेको दिदीको पछि लागेर चितवन पसेकी थिइन । उनै दिदीले मनिकालाई कोक फ्याक्ट्रीमा काम लगाइदिएकी हुन् । उनी भन्छिन्, “म गाउँको महेन्द्र शक्ति माविमा पढ्थेँ । आठ कक्षामा फेल भएँ । सँगैको साथीहरू माथिल्लो कक्षा पुगे । म लाज लागेर पढ्न गइनँ । मेरो घरको आर्थिक अवस्था पनि राम्रो थिएन, अभावै अभाव थियो । त्यसैले दुईचार पैसा कमाउँछु भन्ने सोचेर चितवन पसेकी थिएँ ।”

कोक फ्याक्ट्रीमा काम गर्ने क्रममा उनको मिलनसँग भेट भयो । सँगै काम गर्ने क्रममा उनीहरू नजिकिन थाले । “काम गर्दै जाँदा चिनजान भयो । एक दिन, दुई दिन बोल्दै जाँदा ऊ मसँग धेरै नै नजिक हुन थाल्यो, पछिपछि त बिहे नगरे आत्महत्या गर्छु भन्दै धम्की दिन थाल्यो”, उनले भनिन्, “म सानो मान्छे, अभावै अभावमा हुर्किएको, घरपरिवारबाट पनि माया नपाएकी । उसले त्यस्तो गर्दा माया गर्छ होला नि त भन्ने लाग्यो । फ्याक्ट्रीमा काम गर्ने अरू दिदीबहिनीले पनि यो त पागल छ तेरो लागि, केही गरिहाल्यो भने गाल पर्छ भन्थे त्यसैले, पनि बिहे गरेकी हुँ ।”

मनिका र मिलनले काम गर्ने कोक फ्याक्ट्रीले गत वर्ष चैतमा उनीहरूसँगै अरू थुप्रै कर्मचारीलाई कामबाट हटायो । चितवनको ठाउँ, बिना काम दुई जना कोठामा बस्न खान समस्या भएपछि उनीहरू वैशाख (२०८१) मा रोजगारीको खोजीमा काठमाडौँ पुगे । काठमाडौँमा मिलनले मासु पसलमा काम पायो । मनिका भने सानोतिनो कामको खोजीमा थिइन् । “काम खोज्दै थिएँ, मङ्सिरमा बच्चा बस्यो । मेरो सोच त बच्चा नराख्ने नै थियो । उमेर पनि धेरै भएको छैन, दुई जनाको राम्रो कमाइ छैन । खाने बस्ने ठेगान पनि थिएन”, उनले भनिन्, “मिलनले भने जसरी पनि पछि पाउनु परिहाल्छ । बच्चा राख्नी भन्यो ।

उसैको करले बच्चा राखेँ । जसोतसो दुःख गरेर बच्चा हुर्किएला भन्ने सोचेर हामीले बच्चा राखेका थियौँ ।” गर्भवती भएपछि मनिकालाई डेङ्गीको सङ्क्रमण भयो । डेङ्गीले धेरै नै थलिएपछि डाक्टरले गाउँमा गएर बस्न सुझाव दिएको उनको भनाइ छ । “डेङ्गी लागेपछि काठमाडौँ बस्न गाह्रो भयो मलाई, गजुरी जाने कुरै भएन त्यसैले यहीँ माइतमा आएर बसेँ । मिलनलाई उतै काम गर्नु भनेर म यता आएको । पछि त, ऊ पनि काम छाडेर मैसँग आयो”, उनले भनिन् । दुवै जना बक्राङ आएर बसेको केही समयपछि उनले मिलनलाई काम गर्न झापा पठाइन् ।

बक्राङकै दाजुभाइहरूसँग पैसा सरसापटी गरेर मिलनलाई काम गर्न झापा पठाएको उनी बताउँछिन् । “यहाँ गाउँमा खासै काम पाइन्न । बच्चा जन्मिएपछि पैसा चाहिन्छ भनेर मिलनलाई गएको पुसमा यतै गाउँको दाजुभाइमार्फत झापा पठाएँ । त्यति बेला मसँग मोबाइल थिएन । मिलन झापा गएपछि हाम्रो खासै फोन सम्पर्क पनि भएन । उता गएपछि ऊ धेरै परिवर्तन भएछ”, त्यसपछि सुरु भएको कालो दिनको स्मरण गर्दै उनले भनिन्, “ऊ झापा गएपछि गाउँका दिदीहरूले तेरो बुढाले फेसबुकमा अरू केटीको फोटो हालेको छ भन्न थाले ।

मैले पनि अरूसँग मोबाइल मागेर हेरेँ । फोन गरेँ तर उसले मसँग झगडा मात्र गर्न थाल्यो । मैले धेरै नै बोलाएपछि बल्लबल्ल फागुनको १६ गते यहाँ आयो । मेरो लागि मर्न तयार भएको मिलन थिएन, यति बेला अर्कै भइसकेको रहेछ । उसको चार पाँच दिन बसाइँमा हामीबिच सय पटक झगडा भए । त्यसपछि ऊ निस्केर गयो, त्यस यता उसको कुनै खबर छैन ।” यति कुरा गर्दासम्म मनिकाको आँखा मात्र आँसुले भिजेका थिएनन्, गालामा डाम पार्दै छातीतिर गुडुल्किरहेका थिए ।

उनका अनुसार मिलन गएको फागुनमा आउँदा आमाले घरमा बोलाको छ भनेर निस्केका थिए । मिलन गएको केही दिनपछि मनिकाको काकी पार्वतीलाई मिलनको गाउँले भाइको फोन आयो । फोन गर्ने मान्छेले मिलनले घरमा अर्को केटी लिएर आएको खबर दिएको मनिकाले बताइन् । “यहाँबाट गएपछि पहिलाको बूढीले छोडेर गई भन्दै फेरि अर्को केटी घर लगेछ । दोस्रो केटी पनि अर्कै जातको लगेपछि दुवैजनालाई घरबाट लखेटिदिएको रे भन्ने उसको गाउँको एक जना भाइबाट थाहा भयो”, मनिकाले गहँभरि आँसु पार्दै भनिन्, “मेरो पेटमा उसको बच्चा छ अनि, उ चाँहीँ यो सबै गर्दै हिँडेको छ भन्ने थाहा पाए पछि म छाँगाबाट खसेजस्तै भएँ ।

यो सबै सुन्ने बित्तिकै म केही नसोची काकीसँग रु १००सापट मागेर खैरेनी पुगेँ । पैसा थिएन, गहनाको नाममा एउटा चाँदीको सिक्री र सानो चाँदीको औँठी थियो । खैरेनीमा त्यही बेचेँ । मसँग फोन पनि थिएन त्यसैले खैरेनीबाट मामाको छोरीलाई लिएर गजुरी गएँ । गजुरी पुगेर दिदीको फोनबाट मिलनलाई कति फोन म्यासेज गरे तर उठेन ।
म त पागलजस्तो कहाँ जाने कसलाई भन्ने भएँ । गजुरीमा एउटा पुलिसचौकी रहेछ । त्यहाँ उजुरी दिन गाको पैसा लाग्छ भन्नुभयो । मसँग फर्किनको लागिमात्र पुग्ने पैसा थियो ।

पैसाको यतिसम्म अभाव थियो कि पानी किनेर खाने पैसा समेत थिएन । पेटमा बच्चा छ, गाडीमा अरूले पानी खाको देखेर थुक निल्दै गजुरीबाट खैरेनी फर्कियौँ । सिक्री बेचेको पैसाले दिदी र मलाई आउन जान मात्र ठिक्क भयो । खैरेनी आएर एकरात मामाघर बसेँ । मनको पीडा कसलाई सुनाउनु, भोलिपल्ट घर फर्किएँ । कुकुरले नपाएको दुःख पाउनु भनेको यसलाई नै भन्छ होला है दिदी ।” यति भनिरहँदा उनको भक्कानो फुटिसकेको थियो । मिलन सम्पर्कविहीन भएपछि उनलाई गाउँका दिदीबहिनीहरूले यस्तो अवस्थामा छस् पक्कै आउँछ होला भन्दै सान्त्वना दिन्थे ।

“मिलन सम्पर्कविहीन भएको पनि तीन महिना बितिसक्यो । यसबीचमा मैले जे जति दुःखकष्ट भोगेँ त्यो सम्झँदा अब मलाई कोही चाहिन्न जस्तो लाग्छ”, उनी भन्छिन्, “जेठ ६ गतेको डेट थियो मेरो । तर, बच्चा पाउने सुरसार भएन । ९ गते बिना पैसा गोरखा अस्पतालमा भर्ना हुन गएँ । बच्चा पनि छ घण्टा अड्कियो । बल्लतल्ल बच्चा त जन्मियो । तर, बच्चालाई जन्डिस र थाइराइड देखिएछ । मलाई गोरखा अस्पतालमा राखेर बच्चालाई थप उपचार गर्न भरतपुर सरकारी अस्पताल लग्यो । बच्चालाई भरतपुर अस्पतालमा तीन दिन एनआइसियुमा राख्यो । मेरो उपचार, बच्चाको उपचार, सुत्केरी हुँदाको सबै खर्च खानापिना अहिलेसम्म सबै सहयोग जुटाएको पैसाले जसोतसो धानेको छु ।

गाउँको शिव विक (दाइ) र मन्दिरा विक (भाउजु) ले सबै सहयोग गर्नुभयो । गाउँमा अरूले पनि सहयोग जुटाएर सबै उपचार खर्च टारेको छु ।” श्रीमान्को साथको खाँचो हुँदा एक्लै परेकी मनिकालाई अब कसैसँग कुनै आशा छैन । “यस्तो अवस्थामा छोडेर जाने पापीसँग के आशा राख्नु ? मेरो लागि त मरिसक्यो ऊ । अब आएर छोरालाई नाम दिए, उसको हकअधिकार दिलाइदिए हुन्छ । मचाहिँ अब यस्तै हो, आमाको अभाव बुझेकी छु । दुःख सुख गरेर बाबुलाई ठूलोमान्छे बनाउनु नै मेरो जीवनको लक्ष्य छ”, उनले भनिन् । “के बनाउने लक्ष्य छ नि बाबुलाई ?”, थोरै हाँस्दै मनिकाले भनिन्, “अञ्जानमा सम्बन्ध भयो, भविष्य पनि जानेको छैन त्यसैले उसको बाउ नआए पनि नाम अञ्जन राखिदिन्छु । के बन्छ त अब उसको भाग्यको कुरो हो, जे होस् यसको बाउ जस्तोचाहिँ नहोस् ।

असल, ठूलो मान्छे होस् ।” मनिका आफू सात वर्षको हुँदा आमा बितेको बताउँछिन् । “आमाको त केही सम्झना नै छैन । बुबा इण्डियातिर हुनुहुन्थ्यो आमा बित्दा । भाइ जम्मा दुई वर्षको थियो । म र भाइलाई हजुरआमाले हुर्काउनुभएको हो”, उनले भनिन्, “आमा बितेको धेरै वर्षपछि मात्र बुबा घर आउनुभयो । बुबाले दोस्रो बिहे त गर्नुभएन तर हाम्रो हेरविचार पनि गर्न सक्नुभएन । गाउँमा यस्तै त हो । पैसाको अभाव, फेरि बुबा बूढो हुनुहुन्छ अरूले जस्तो काम पनि गर्न सक्नुहुन्न ।”
बुबाले आफू आठ कक्षामा पढ्दापढ्दै पढाइ छोड्दा, चितवनमा काम गर्न जाँदा, कलिलो उमेरमै बिहे गर्दा र अहिले बच्चा जन्माउँदा समेत केही नभनेको मनिका सुनाउँछिन् ।

“बुबाले त केही भन्नुहुन्न, धेरै बोल्नु पनि हुन्न । त्यही भएर नै म र मेरो १९ वर्षको भाइ अहिले अलपत्र परेका हौँ । भाइ पनि अहिले पोखरातिर गाको छ पढाइ छाडेर । तर, बुबालाई केही मतलब हुन्न । सायद आमा भइदिएको भए हामीलाई सम्झाउनुहुन्थ्यो होला, मेरो यस्तो अवस्था आउँदैन थियो होला । यदि यही अवस्थामा पनि आमा भइदिएको भए मेरो स्याहारसुसार गर्नुहुन्थ्यो होला”, गहँभरि आँसु पार्दै मनिकाले भनिन् । दुःखको रहरमा पौडिएर हुर्केको अहिले झन् ठूलो दुःखको सागरमा डुब्नुपरेको दुखेसो गर्दै उनले भनिन्, “मेरो जिन्दगी हाँडीबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछोझैँ भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?