© २०२३
नक्कली भुटानी शरणार्थी काण्डले आफ्नै नेताहरूबाट साधारण कार्यकर्ता तथा सर्वसाधारण जनता बेचिएको दृष्टान्तले हाम्रो देशको इतिहासमा अकल्पनीय खराब अवस्थाको जो चित्रण गरिरहेको थियो, त्यसैमाथि हालैको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा वैदेशिक रोजगारमा जाने नेपाली युवा युवतीहरूसित त्यहाँका कर्मचारीहरूले प्रतिव्यक्ति ४०/५० हजारदेखि २/३ लाखसम्म अवैध रकम असुली गरेपछि त्यसरी उठेको रकमबाट गृहमन्त्रीलाई दैनिक ५० लाख बुझाउने गरेको घटना छताछुल्ल भएको छ । यो घटनाले हाम्रो देश नेपाल कस्तो दयनीय अवस्थामा बाँचेको राष्ट्र रहेछ भन्ने दुःखदायी स्थिति आज सबैका सामु प्रस्ट हुन आएको छ ।
नेपाली जनताले लडेर ल्याएको हजारौँ सहिदहरूको बलिदानमा खडा भएको यो व्यवस्थामा गृहमन्त्री जस्तो जिम्मेवार व्यक्ति र उनको मातहाका कर्मचारीहरूबाट जनतामाथि गरिएको यस्तो अत्याचारले ती महान् सहिदहरूको त्याग र बलिदानबाट आएको कथित लोकतन्ञको उपलब्धि के भन्ने प्रश्न उठ्नुलाई अनुचित भन्ने आधार अव रहेन । विकासका कुरा गर्ने हो भने हाम्रो सरकार यति ढँटुवा छ कि जसले पूर्वाधारलाई नै विकास भनेर प्रचार गरी आम सर्वसाधारण जनताका आँखामा धुलो छर्ने काम गर्दै आएको छ । त्यही पूर्वाधार निर्माणमा पनि लाख होइन, दश लाख, करोड, दश करोड होइन अरब अरबका भ्रष्टाचारले राष्ट्र थिल्थिलो परेको छ । गत वर्षको बेरुजु हिसाब महालेखा परीक्षक कार्यालयले साढे ३२ खर्ब रुपियाँ देखाउनुले यस कथनको पुष्टि गर्दछ ।
जिम्मेदारीको पदमा बसेकाहरू यति गैर जिम्मेवार भइदिएकी उनीहरूको ध्यान देशको बृहत्तर हिततर्फ कहिल्यै जान सकेन । उनीहरू त केवल आ–आफ्ना निजी स्वार्थलाई नै सर्वोपरि महत्त्व दिने गर्दछन् । जनताको चाहाना विकासतिर छ । देशमा विकास भयो भने सबैले आफ्नै देशमा रोजगारी पाउँछन् । बिहान आफ्नो परिवारसित सँगै खाना खाएपछि दिनभरि आ– आफ्ना काममा जान्छन् । राती परिवारसित सँगै बित्दछ । ज्याला या तलब बापत आफ्नो पाएको पैसाले घर खर्च चल्ने मात्र होइन, बचत समेत वृद्धि हुँदै जाँदा पैसाको अभावमा तड्पिनु पर्दैन् ।
साथै औद्योगिक प्रतिष्ठानहरूमा काम गरेर बचेको फुर्सदिलो समय र अन्य दिनहरूमा पनि आफ्नो खेतबारीमा समय दिएर या पशुपन्छी पालनबाट अतिरिक्त आम्दानी गर्न सकिने हुँदा आफ्नै देशभित्र भएको विकासले स्वर्गको जस्तो जीवन बाँच्न सकिन्छ भन्ने हरेक नेपालीलाई थाहा छ तर जनतालाई थाहा भएर के गर्नु ? सरकार चलाउनेहरू पापी भइदिएपछि जनताका चाहानाहरू नबुझिँदो रहेछ । हामी लोकतन्त्र आयो त भन्छौँ तर हामीलाई रम्ने रमाउने वातावरण आउन सकेन । लोकतन्त्रमा रम्ने रमाउने त यिनीहरू भए । देशमा यस किसिमको परिस्थिति किन आयो भन्ने हामीलाई थाहा नभएको होइन । तिर्न नेताहरूको कारणले गर्दा हामीले यसरी गोता खानु परेको छ भन्ने राम्ररी थाहा हुँदाहुँदै पनि यिनै दुष्टहरूलाई जो भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेका छन्, हाम्रो पेट काटेर चिल्ला कारमा गुड्छन् ।
हामी यिनैको जय जयकार गर्छौ । यिनैलाई फूलमाला र खादाले स्वागत गर्दछौँ र अर्को पटकको निर्वाचनमा पनि यिनैलाई जिताएर सांसद मन्त्री बनाउँदै छौँ । यिनै प्रधानमन्त्री बन्छन् । हामी यही उही कङ्गालको कङ्गाल हुँदैछौं । यो भ्रम धेरै पटक दोहोरियो । अब भने दोहोरिन दिनु हुँदैन । लोकतन्त्र आगमन पश्चात् यस किसिमको परिस्थिति किन दोहोरिरहन्छ भन्ने कुराको पत्ता लागे पनि नेता भनाउँदाहरूले भ्रष्टाचारको साम्राज्य फैलाएकोले यस किसिमको परिस्थिति सिर्जिएको हो भन्ने जानिसकेपछि अब भने हामीले सही मूल्याङ्कन गर्नुपर्दछ ।
अब पनि भ्रष्टाचारीहरूलाई नै चुनावबाट निर्वाचित गरेर पठायौ भने देशको र हाम्रो हालत उस्तै हुनेछ । तसर्थ अब जागौँ । संसारका यस्ता देशहरू जो हामीसित सँगसँगै जस्तै प्रजातान्त्रिक युगमा प्रवेश गरेका थिए । उनीहरू आज परमाणु युगसम्म पुगेका छन् । हाम्रो यो गति छ । हाम्रो उत्तरी छिमेकी मित्रराष्ट्र सन् १९४५ मा स्वतन्त्र भएको हो । भारत १९४७ मा स्वतन्त्र भएको हो । पाकिस्तान १९४७ मा निर्माण भएको हो । उनीहरू आज विकासको रफ्तारले कति माथि पुगे तर हाम्रो यो हविगत छ । हाम्रो यो दुर्दशाको कारण नेताहरू हुन् ।
हाम्रो देश कृषिप्रधान देश हो तर पहाडतिर हाम्रा खेतहरू वाँझिएका छन् भने तराई मधेशका खेतहरू प्लटिङले खेतीपातीविहीन वन्दैछन् । प्लटिङ गर्नै हुन्न भनेको होइन तर जथाभाबी प्लटिङ गर्नु राम्रो होइन । खेतीयोग्य जमिनलाई नचलाएर अरू जग्गामा प्लटिङ गरे हुन्छ तर सरकारको यसमा ध्यान जाँदैन । देश कृषि प्रधान हुने भन्ने सरकारलाई मात्र थाहा भएको होइन विद्यालय जाने बच्चालाई पनि थाहा छ तर कृषि प्रधान देशमा एकातिर जग्गा जमिन बाँझै रहनु र अर्कोतिर खेतीपातीमा आधुनिक प्रविधिको नगन्य प्रयोग र मलखाद तथा सिँचाइको अभावका कारण त्यही कृषि उत्पादन पनि नै घट्दो छ । जसको कारण महिनैपिच्छे अरबौँ रुपियाँको अन्नपात तथा दलहन, तेलहन, चिनी जस्ता अनिवार्य आवश्यक कुराका वस्तुहरू बाहिरबाट आयात गर्नुपरेको छ ।
हरे शिव यो कस्तो विडम्बना १ देशमा चौतर्फी गरिबीको अवस्था छ । नेताहरू चौतर्फी विकासका नारा घन्काउन लाज मान्दैनन् । नेताहरू सबैले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता आएपछि देश स्वर्ग जस्तो वनेको छ भनेर कुर्लन्छन् तर जनताले नरकको जीवन बाँचिरहेका छन् । जब नारकीय जीवन बाँचिरहेका जनता यदाकदा आफूमाथि लादिएका आयातप्रति रोष प्रकट गर्दै सडकमा उत्रन्छन् र नेताहरूको विरोध गर्दछन् । हाम्रो देशमा विकास नहुनुको कारण प्रतिभाशाली जनशक्तिको अभाव हो भन्ने ठाउँ पनि छैन ।
एकातिर प्रतिमावान युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन वाध्य छन् भने अर्कोतिर डा. महावीर पुन जस्ता वैज्ञानिकलाई सरकारले उनको प्रतिभाको उचित कदर गरी उनलाई आफ्नो प्रतिभा र क्षमता प्रकट गर्ने ज्ञान नदिएर वीरगंज कृषिऔजार कारखाना संचालनका निम्ति रकम जुटाउन किताब बेच्दै हिडनु परिरहेको अवस्था छ । यो कस्तो विडम्बना हो । यसैगरी अनुभव र सीपको अभाव छ भन्ने ठाउँ पनि छैन । सबै कुराहरू छन तर यी समस्त कुराहरू भएरपनि हामी यो दुःखदायी स्थितिमा पुगेका छौँ । रुस र युक्रेनको लडाइ चलिरहेको छ । दुवै देशमा हाम्रा नेपाली युवाहरू प्रयोग भएका छन् । वेलायतले नेपाली युवतीहरूलाई गोर्खा रेजिमेण्टको रूपमा प्रयोग गरिरहेको छ । अन्य कार्य तथा रोजगारको निम्ति वाहिरिनेहरूको कहालीलाग्दो लर्को त दिनकादिन बढेको बढ्यै छ ।
यी यावत् समस्याहरूको समाधानको मुख्य पाटो भनेको एउटा सुशासन र अर्को स्थायित्व हो तर खेदका साथ भन्नुपर्दछ कि हाम्रो देशमा अहिले यी दुवै कुराको अभाव छ । सुशासनका कुरा गर्दा माथि सुरुको प्रसंगमा जे कुरा उठान गरियो, त्यसले सवै कुरा वताउँछ । जहाँसम्म स्थायित्वको सवाल छ, यहाँ स्थायित्वको कुनै पनि ग्यारेण्टी छैन । आज एउटा सरकार छ भोलि अर्को सरकार बन्दछ । आजको सरकारले वनाएको नीति नियम एउटा छ, भोलिपल्ट वन्ने अर्को सरकारले त्यसमा पूरै परिवर्तन गरेर आफ्नो आग्रह दुराग्रह लादने काम हुन्छ ।
यसैगरी भ्यागुताको धार्नी जम्मा गरेर वनाइने सरकारमा थरिथरि दलका थरिथरि मन्त्रीहरू हुने हुँदा एउटा मन्त्रीले आज एउटा मन्त्रालय समालेको छ, आफू अनुकूलका नीति नियम वनाएको हुन्छ । रातारात मन्त्रालय परिवर्तन हुँदा हिजो एउटा मन्त्रालयको कुर्सीमा वसेको मन्त्री भोलि अर्को मन्त्रालयमा छिर्दा उसले गाडी तथा मन्त्रालयका फर्निचरहरू मात्र फेर्ने होइन, पूरै नीति नियम नै फेरिदिएर जताततै भाँडभैलो र अस्तव्यस्तता निम्त्याउने गरेका समाचारहरू वेला वेलामा जो आइरहन्छन । यस्तो प्रवृत्तिपनि हाम्रो विकासको बाधाको मूलकारक मध्ये एक हो भन्ने छ । यस किसिमको अराजकताको कुनै निश्चित एक क्षेत्रमामात्र नभई चारैतिर विद्यमान छ ।
त्यसैले चारैतिर अस्तव्यस्त छ । चाहे त्यो राजनीति होस चाहे शिक्षा नीति, चाहे अर्थनीति होस, चाहे वाणिज्य र उद्योग नीति, सामाजिक अथवा प्रशासनिक देश निरन्तर यस्तै अस्थिर नीतिबाट गुज्रिरहेको छ । यस्तै अस्थिर नीति र अस्थिर कृयाकलापले गर्दा तथा मन्त्रालय सम्हालेका अधिकांश लुटढाँट, छलकपट गरखाउ, आफूमात्रै मोजमस्ती गर जनतालाई भुलभुलैयामा राखिरहु भन्ने विकृत संस्कार र सँस्कृतिको वढावाले देशको यो अवस्था भएको हो र जनतामा यस्तो कारुणिक स्थिति सिर्जिएको हो । अब यस स्थितिलाई समाप्त पारी देशलाई प्रगतिपथमा लम्काउनु छ । हामी भ्रष्टाचारी नेताका झोले होइन २१ औं शताब्दीका जागरूक जनता बन्नु छ ।