© 2026
सुर्खेत,१२ असार ।
कर्णालीमा आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रदेशसभामा पेस हुने भएको छ । प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले उक्त विधेयक लाई प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आमसञ्चार विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ । प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेश सभामा पेस गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको हो ।
बैठकले उद्योग वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारी शेरबहादुर श्रेष्ठलाई दिएको छ । यस्तै बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा कृष्ण खराललाई खटाउने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई वार्षिक कार्यक्रम अन्तर्गत खर्च शीर्षक नं.३७२११ को कार्यान्वयनका लागि सङ्केत नं. ७।२।७।१ अनुसारको रकम स्थानीय तहमा निकासा दिन अख्तियारी पठाउने निर्णय गरिएको छ ।