काठमाडौँ ।
सशस्त्र प्रहरी बलको परिचालन अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै गृहमन्त्री रमेश लेखकले सशस्त्रले राष्ट्रको सुरक्षामा दिएको योगदानको सराहना गरेका छन्। सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित वरिष्ठ अधिकृत सम्मेलन–०८२ को समापन कार्यक्रममा बोल्दै मन्त्री लेखकले सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता र दक्षता उल्लेखनीय रहेको बताए।

उनले जनस्तरमा सशस्त्र प्रहरी युनिट स्थापनाको माग बढ्नु नागरिकको विश्वासको सूचक भएको तर्क गरे। सीमित स्रोत साधनका बाबजुद पनि सशस्त्रको कार्यक्षमता उच्च रहेको उल्लेख गर्दै गृहमन्त्रीले संगठनलाई अझ सशक्त बनाउन सरकार गम्भीर रहेको संकेत गरे।
कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सम्मेलनको निचोड महत्त्वपूर्ण रहेको भन्दै मन्त्रालयको तर्फबाट संगठनप्रति भरोसा रहेको स्पष्ट पारे। उनले विपद् व्यवस्थापनमा सबै तहको साझा प्रयास र सहकार्य अपरिहार्य रहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मेलनलाई नतिजामुखी बनाइएको उल्लेख गर्दै संगठन समसामयिक आवश्यकतामा केन्द्रित रहेको बताए। उनले नागरिक सुरक्षादेखि विपद् उद्दारसम्मको जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे।



