काठमाडौँ ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका उच्च अधिकारीहरूले लागूऔषध नियन्त्रणका लागि नयाँ संरचना निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। गृहमन्त्री रमेश लेखकले अबको वर्षदेखि लागूऔषध नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले छुट्टै विभाग स्थापना गर्ने योजना अघि बढाइएको बताएका छन्।

उनका अनुसार लागूऔषध नियन्त्रणलाई सरकारको उच्च प्राथमिकतामा राखिएको छ। यसै अवसरमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले लागूऔषध नियन्त्रणमा सबैको सहकार्य र ऐक्यबद्धता जरुरी रहेको भन्दै उपत्यकाभर प्रहरीले सशक्त रूपमा अभियान सञ्चालन गरिरहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले लागूऔषधको बढ्दो दुरुपयोगले समाज, विशेषतः युवापुस्तामा गम्भीर असर पारिरहेको भन्दै नियन्त्रणका उपाय थप कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।




