© २०२३
काठमाडौँ ।
माल्दिभ्सका मेडिकल विद्यार्थीहरूलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगति भएको जानकारी आदानप्रदान भएको छ।
मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा पुगेको र चाँडै सम्झौता गर्ने तयारी भइरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई बताएका छन्। उनले माल्दिभ्सका विद्यार्थीहरूलाई एमडी, एमएससँगै एमबीबीएस तहमा पनि स्वागत गर्न नेपाल तयार रहेको र नेपाली विद्यार्थीहरूमा असर नपर्नेगरी अलग कोटा राखिने विषयमा आवश्यक परामर्श भइरहेको बताए।
मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपालीहरूको संख्या बढिरहेको तर उनीहरू रकम पठाउन समस्या भोग्दै आएको उल्लेख गर्दै, यसलाई समाधान गर्न माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थीहरूलाई आकर्षित गर्न नीतिगत परिमार्जनको तयारी गरिरहेको छ। यस सम्बन्धमा मन्त्री पौडेलले केही महिना पहिले इण्डोनेसियामा र पछि जेनेभामा माल्दिभ्सका स्वास्थ्य मन्त्रीसँग छलफल गरिसकेका छन्। साथै, विदेशी विद्यार्थीहरूलाई नेपालमा मेडिकल शिक्षा दिन सुझाव दिने कार्यदल गठन गरी गृहकार्य सुरु गरिएको छ।
स्वास्थ्य मन्त्रालयले माल्दिभ्सबाट आएको मस्यौदामा आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी गरिरहेको सचिवालयले जनाएको छ।