© २०२३
काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि प्रणालीमा मलको अभाव (हाहाकार) सधैँजसो रहने अवस्था रहेको स्पष्ट पारेका छन्। बिहीबार नेपाल डेरी एसोसिएसनद्वारा आयोजित ‘दही चिउरा प्रवर्द्धन कार्यक्रम’ मा बोल्दै उनले बजेट र आपूर्तिको असन्तुलनका कारण मल अभाव सामान्यजस्तै बन्न गएको उल्लेख गरे।
मन्त्री अधिकारीका अनुसार गत वर्ष कृषि मन्त्रालयको बजेट २७ अर्ब ९५ करोड रुपैयाँ भए पनि कुल आपूर्ति केवल साढे ४ लाख टन मल मात्र भएको थियो। तर देशभर वार्षिक रूपमा ११ देखि १३ लाख टन मलको माग रहने भएकाले आपूर्तिको एक चौथाइ मात्र किसानसम्म पुग्न सक्ने अवस्था रहेको उनले बताए।
कार्यक्रममा मन्त्री अधिकारीले कृषि उत्पादनसँग सम्बन्धित अन्य समस्याहरू पनि औंल्याए। उनले विगतदेखि नै दूधको भुक्तानी समयमा नहुँदा किसान मारमा परेको बताए। “वर्षौँदेखि किसानले उधारो दूध बेचिरहेका छन्, तर भुक्तानी अझै दिन सकिएको छैन,” भन्दै उनले वर्तमान प्रणालीको कमजोरीप्रति असन्तुष्टि जनाए।
त्यस्तै, उनले चिस्यान केन्द्रको पहुँच, कृषि बीमा, लगानी संरचना लगायतका क्षेत्रमा पनि समस्या रहेको बताए। यी सबैले मिलेर देशको कृषि प्रणालीमा बाधा पुर्याइरहेको मन्त्री अधिकारीको भनाइ थियो।