© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपको स्पेनतर्फ औपचारिक भ्रमण गर्न लागेका छन्। आगामी शनिबार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन जाने तय भएको छ। यो भ्रमणको मुख्य उद्देश्य स्पेनमा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनु हो।
प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ। स्पेनस्थित नेपाली समुदाय भने उनको स्वागतका लागि उत्साहित र आतुर देखिएको छ। भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन्, जसमा नेपाल र स्पेनबीच सहयोग विस्तार तथा सम्बन्ध प्रगाढ पार्ने विषयमा छलफल हुनेछ। साथै, केही महत्त्वपूर्ण सहमतिपत्रहरूमा हस्ताक्षर पनि हुने कार्यक्रम छ।
यात्राका क्रममा प्रधानमन्त्रीले स्पेनमा बसोबास गर्दै आएका नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। साथै, त्यहाँका उद्योगी, व्यवसायीसँग पनि उनले संवाद गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनकै सिलसिलामा अन्य उच्चस्तरीय भेटवार्ता पनि हुने दूतावासले जनाएको छ।
स्पेन युरोपको पश्चिम भागमा अवस्थित, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र प्रणाली अपनाएको मुलुक हो। पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशको जनसंख्या झन्डै साढे चार करोड छ। सन् १९८६ मा युरोपेली सङ्घमा प्रवेश गरेको स्पेनले १९९५ मा सेन्जेन क्षेत्रको सदस्यता पनि प्राप्त गरेको थियो। यहाँ स्पेनिस भाषा प्रमुख भाषाको रूपमा प्रचलित छ, जुन विश्वकै चौथो बढी बोलिने भाषा हो।
स्पेनमा करिब २० हजार नेपालीहरू विभिन्न पेसा र व्यवसायमा संलग्न छन्। विशेषतः कृषि, पर्यटन, होटल र निर्माण क्षेत्रमा उनीहरूको उल्लेख्य उपस्थिति छ। यद्यपि नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध १९६८ मै स्थापना भए पनि नेपालले त्यहाँ आवासीय दूतावास भने २०१८ मा मात्रै खोलेको हो। स्पेनको दूतावास भने नेपालमा अझै स्थापना भएको छैन, र यहाँको सम्बन्ध दिल्लीस्थित स्पेनको दूतावासमार्फत सम्हालिँदै आएको छ।
नेपाल र स्पेनबीच विगतमा उच्चस्तरीय भ्रमणहरू भइरहँदै आएका छन्। तत्कालीन राजा वीरेन्द्र, स्पेनी राजा कार्लोस, पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजस्ता विशिष्ट व्यक्तित्वहरूले दुवै देशमा पारस्परिक भ्रमण गरिसकेका छन्।
पर्यटनको दृष्टिले स्पेन विश्वकै प्रमुख गन्तव्यहरूमध्ये एक हो। त्यहाँ हरेक वर्ष सवा करोडभन्दा बढी पर्यटक पुग्ने गर्छन्। त्यही अवसरलाई मध्यनजर गर्दै नेपालले पनि पर्यटन प्रवर्द्धनको सन्देश फैलाउने आशा लिएको छ। नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, ध्यान र योगजस्ता आध्यात्मिक पक्षहरूले स्पेनिस पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना रहेको विश्वास गरिन्छ।
यसपटक प्रधानमन्त्री ओलीको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने मात्र नभई, नेपाल–स्पेन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।