© २०२३
बुटवल, १२ असार । कालिका मानवज्ञान माबिमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये २६ जनालाई जनही २५ हजार रुपियाको दरले छात्रवृति प्रदान गरेको हो ।
एक समारोहका बिच छात्रवृत्ति रकम विद्यालयमा प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले राज्यको चौथो अंग संचार क्षेत्रलाई मानिने भएकोले यो क्षेत्रमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आमसंचार र पत्रकारिता विषय पढाईरहेको बताए । उनले पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनको लागि विद्यालयमै सुविधासम्पन्न स्टुडियोको निर्माण गरिएको र विभिन्न संचार गृहहरुला लगेर व्यवहारिक तालिम दिने गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्तिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा प्रदेश सरकारबाट समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउदा विद्यार्थीहरुलाई निर्वाध आफ्नो पढाई पुरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने बताए ।
आमसंचार तथा पत्रकारिताका विषय प्रमुख शेर बहादुर केसीले प्रदेश सरकारबाट आमसंचार पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकोमा धन्यवाद दिदै विद्यार्थीहरुलाई अध्ययन पुरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवश्यक दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए ।