© २०२३
काठमाडौँ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरूलाई यथाशीघ्र दर्ता गराउन आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार जारी गरेको विज्ञप्तिमा उपनिर्वाचनको मिति चाँडै घोषणा हुने भएकाले नाम दर्ताको प्रक्रियामा ढिलाइ नगर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले नाम छुटेकाहरूले निर्वाचन आयोग, नेपालमा सम्पर्क गरी नाम दर्ता गराउन हार्दिक अनुरोध गर्दछौं।”
प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नं. ३, गण्डकी प्रदेशको मनाङ १(२) र स्थानीय तहका १३ पद रिक्त रहेका छन्। ती पदहरूमा उपनिर्वाचन हुन लागेको हो। आयोगका पदाधिकारीहरूले यसअघि असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्तावसहित छलफल गरेका थिए। यद्यपि, उपनिर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइनसकेको आयोगले जनाएको छ।