© २०२३
सल्यान, १२ असार ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नंं. ६ का कृषक मानबहादुर वलीले सँघारमा रहेको आफ्नो खेतमा दिउँसो सबेरै धान रोपाइँ भ्याए । उनले भने, “पहिले ४ रोपनी खेत जोत्न ४ दिन लाग्थ्यो, अहिले त २ घण्टामै सकिन्छ ।” खेतीपातीमा कृषि यन्त्रको प्रयोगले गर्दा छिटो, सजिलो र सहज रूपमा काम सम्पन्न गर्न सम्भव भएको हो ।
सल्यानमा पछिल्लो समय खेतीपातीमा गोरु र मान्छेको भर परेर काम गर्ने समय अब धेरै किसानले बिर्सिँदै गएका छन् । आधुनिक मेसिनको प्रयोगले खेती गर्न सजिलो र छिटो हुने भएपछि किसानहरू अब खेतबारी जोत्ने मेसिन मिनी टिलर (हाते ट्याक्टर) तर्फ आकर्षित भएका हुन् ।
“पहिले खेत जोत्न मान्छे बोलाउनुपर्ने, गोरुले जोत्नुपर्ने, त्यसको झन्झट बेग्लै, खर्च पनि धेरै हुने, अहिले त बिहान मेसिन लगाएर जोत्न थालेको, दिउँसो धान रोपि सकिएको हुन्छ,” कृषक मान बहादुरले भने । आफूले दुई वटा मिनी टिलरको प्रयोगबाट खेत जोतेर ४ घण्टामै धान रोपाइँ सकेको भन्दै उनले आफूहरूको गरिज्युला कृषक समूहमा आबद्ध २० जना किसानले अहिले मेसिनकै सहायताले जोत्न थालेको बताए ।
त्यसै गरी वडा नं. ६ कै अर्का कृषक मैसर पुनले पनि आफ्नो ८ रोपनी खेत मेसिनकै सहायताले जोतेका हुन् । विशेष गरेर यस क्षेत्रका किसानहरूले विगत दुई वर्षदेखि हाते ट्याक्टरको प्रयोग गरेर खेतबारी जोत्दै आएका छन् । गोरुले जोत्नुपर्दा खेतको माटो पनि मसिनो नहुने, कुनाकन्दरामा हलोले टिप्न नसक्ने हुँदा फेरी आफैँ खन्नुपर्ने समस्या हुने गरेको थियो । तर मेसिन प्रयोग गर्दा छेउ कुना पनि खन्न नपर्ने किसानहरूको भनाइ छ ।
गाउँपालिकाले कृषक समूहलाई मेसिनहरू ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ । यसै वर्ष छत्रेश्वरी गाउँपालिकाका ३९ जना कृषक समूह, सहकारी तथा व्यावसायिक कृषकले अनुदानमा मिनी लिटर पाएका छन् । यस अघिका दुई वर्षमा पनि ३८ वटा मिनी लिटर अनुदानमा उपलब्ध गराइएको जनाउँदै गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी कृषि यन्त्र उपकरणको माग बढ्दो रहेको बताउँछन् । किसानहरूले समूहमा पालैपालो मेसिन प्रयोग गर्ने गरेका छन् । यान्त्रिक प्रविधिको प्रयोगले खेतीमा समय, श्रम र खर्च घट्ने भएपछि किसानहरू यसको प्रयोगतर्फ आकर्षित हुँदै गएका हुन् ।
८० प्रतिशत धान रोपाई सकियो
सल्यानमा असारको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलमध्ये करिब ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।कृषि विकास कार्यालय सल्यानका अनुसार धान खेती हुने जिल्लाका नौ पालिकामा रोपाइँ चलिरहेको छ । जिल्लामा कुल छ हजार १५८ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको छ । जसमध्ये असार दोस्रो सातासम्म ७० देखि ८० प्रतिशतसम्म धान रोपाइँ सकिएको कृषि विकास कार्यालयका वसन्त रेग्मीले जानकारी दिए ।
समयमै पानी परेको कारण तथा सिँचाइ सुविधा भएका क्षेत्रहरूमा खनजोत लगायतको तयारी र किसानहरूको सक्रियताका कारण असार दोस्रो सातामा नै करिब ८० प्रतिशत धान रोपाई सकिएको हो । किसानहरूले यस वर्ष हाइब्रिड धानका जातहरूसँगै राम धान, खुमल, हर्दिनाथ, सुख्खा धान लगायतका जात लगाएका छन् ।
जिल्लाका केही पालिकामा चैते धान खेती पनि हुने गरेको छ । कालीमाटी र कुमाख गाउँपालिकामा किसानले चैते धान खेती गरेको र कतिपयले चैते धान भित्राइसकेको तथा कतीपय किसान भित्राउने तयारीमा जुटेका छन् । यहाँका किसानले सीएच ४५ जातको चैते धान लगाउने गरेका छन् ।
जिल्लामा चालू आर्थिक वर्ष ०८१/८२ मा छ हजार हेक्टर क्षेत्रफलमा २८ हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा छ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५५९ मेट्रिकटन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष ०७९÷८० मा जिल्लामा सात हजार ६६ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । सहरीकरणको प्रभाव, जनशक्ति अभाव लगायतका कारण धान खेती हुने क्षेत्र घटेको पाइन्छ ।