© २०२३
चन्द्रौटा, १२ असार ।
प्रायः युवाहरू अध्ययन सकेर विदेश जाने सपना बुन्ने गरेका छन् । ती सपना पालेका युवाहरू अब सोच्न थालेका छन् । के कामका लागि विदेश नै जानु अनिवार्य छ त? यस्तो सोचमा परिवर्तन ल्याउने प्रयास सुरु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट रोजगारीका अवसर गाउँमै सिर्जना गर्न सकिन्छ भन्ने सन्देश फैलाउँदै गाउँपालिकाले “आन्तरिक रोजगारी प्रवर्द्धनमा सरोकारवालाको भूमिका” विषयमा स्थानीय स्रोत साधनको पहिचान गरी विशेष अभिमुखीकरण थालेको छ ।
नेपाल विकास केन्द्रले गरेको शिवराज नगरपालिका वडा नं.–१, शिवपुरमा बुधबार एक कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, र स्थानीय समुदायका प्रतिनिधिहरूबिच गम्भीर छलफल भयो । युवा जनशक्तिलाई स्थानीय स्तरमै कसरी रोजगारी गाउँमै सिर्जना गर्ने, कसरी सीपयुक्त जनशक्ति तयार गर्ने लगायत विषयमा गहन छलफल र तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
अहिले पनि धेरै युवा बिदेसिन आतुर छन् । तर विजयनगर गाउँपालिकाले त्यो ‘प्रवृत्ति’ लाई ‘परिवर्तन’ मा बदल्ने प्रयास गरेको छ । सीप सिकाएर, स्थानीय उत्पादन बढाएर, पर्यटनको सम्भावना उजागर गरेर, रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने यो कार्यक्रम एक थालनी हो । सहजकर्ता युवराज कँडेलले नेपालमा रहेको जनशक्ति र स्रोत साधनको सही उपयोग गर्न सके गाउँबाटै समृद्धिको यात्रा सुरु गर्न सकिने तर्क गरे । प्रयास गरे विजयनगरमा पर्यटनको प्रचुर सम्भावना रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । सीप भएपछि स्वतः रोजगारीको सिर्जना हुने बताउँदै जीवन निर्वाहमुखी मात्र नभएर व्यावसायिक रूपमा अगाडी बढाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष थापाले भनेः “सीप भएपछि रोजगारी आफैँ आउँछ ।” स्वदेशमै बसेर आत्मनिर्भर बन्नुपर्ने बताउँदै विकासमा सबैको सहकार्य हुनु जरुरी रहेको समेत उनले बताए । अब व्यावसायिक सीपले गाउँमै काम गर्न सकिन्छ भन्ने विश्वास जगाउनु पर्ने थापाले बताए ।
रोजगार सेवा शाखाका प्रमुख श्याम पुनले सरोकारवालाबिच सहकार्य र समझदारी बढाउनु आवश्यक रहेको बताए । सबै क्षेत्रको समन्वय बिना रोजगारी सिर्जना सम्भव नरहेको उनको भनाइ छ । महिला, युवाहरू, कृषक, व्यवसायी, शिक्षक, र स्थानीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । उनीहरूले खेतीपाती, घरेलु उद्योग, पर्यटन, र सेवा क्षेत्रमा आधारित रोजगारीको सम्भावना पहिचान गर्न सुझाव दिए । यो कार्यक्रमले ठुलो परिवर्तन नगरे पनि रोजगारी सिर्जना गर्छ सोचको परिवर्तन, जसले दीर्घकालीन रूपमा युवाहरूलाई गाउँमै अवसर खोज्न प्रेरित गर्ने प्रमुख पुन बताउँछन् ।