काठमाडौँ ।
सर्वोच्च अदालतका न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सातवटा उजुरी परेका छन्। यी उजुरीहरू संघीय संसद्को संसदीय सुनुवाइ समितिमा दर्ता भएका हुन्। समितिकी सभापति ईश्वरी न्यौपानेका अनुसार पाँच वटा उजुरीहरू व्यक्ति केन्द्रित छन् भने दुई वटा उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बसेको समितिको बैठकमा सभापति न्यौपानेले उजुरीहरूबारे जानकारी दिइन्। यद्यपि, उनले कुन व्यक्तिविरुद्ध के प्रकारका उजुरी परेका छन् भन्ने विवरण भने सार्वजनिक गरेकी छैनन्।उजुरी परेकाहरूलाई समितिले शुक्रबार बिहान साढे ११ बजे बस्ने बैठकमा उपस्थित हुन आह्वान गरेको छ।
न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम प्रस्ताव गरिएको हो। यी प्रस्तावित न्यायाधीशहरूसँग समितिले आइतबार (असार १५ गते) मध्यान्ह सवा १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ।



