© २०२३
सन्धिखर्क, ११ असार ।
यातायात सुरक्षालाई मध्यनजर गर्दै अर्घाखाँचीमा चालक तथा सहचालकहरूको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगर पालिकाको सहयोगमा चालक तथा सहचालकहरूको लागि आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सन्धिखर्क–गोरुसिङ्गे सडक खण्ड अन्तर्गत चल्ने विभिन्न सवारीसाधनका चालक तथा सहचालकहरूलाई लक्षित गरी सोमवार नरपानीमा आँखा जाँच तथा स्वास्थ्य चेकजाँच कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए ।
झन्डै १५० जना चालक तथा सहचालकहरूको आँखा चेकजाँच सँगै स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नीरज गौतमले जानकारी दिए । परीक्षणमा स्वास्थ्यकर्मीको टोलीले आँखा सम्बन्धी समस्यासँगै उच्च रक्तचापजस्ता सामान्य रोगहरूको चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा ७ जनामा आँखा सम्बन्धी समस्या र ४ जनामा उच्च रक्तचापको समस्या रहेको गौतमले बताए । स्वास्थ्य समस्या भएकाहरूलाई चिकित्सकसँग परामर्श गर्न आग्रह गरिएको उनको भनाई छ ।
सडक दुर्घटना न्यूनीकरणको लागी ट्राफिक प्रहरी अर्घाखाँचीले विभिन्न सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रहरीले सडकका विभिन्न स्थानमा ट्राफिक सचेतनाको लागी होडिङ्ग बोर्ड,ट्राफिक चिन्ह र दुर्घटनाको जोखिम भएका घुम्ती घुम्तीमा ऐना (कन्भेक्स मिरर) राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख नीरज गौतमले बताए । ट्राफिक प्रहरीले सक्रियता बढाए सँगै जिल्लामा दुर्घटना न्यूनीकरण भएको छ ।