© २०२३
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संघीय प्रहरी विधेयक अघि नबढ्नुको जिम्मेवार सरकारलाई ठहर गरेका छन्। बुधबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारकै ढिलासुस्तीले विधेयक प्रक्रियामा गतिरोध आएको बताए।
पाण्डेका अनुसार, विधेयक अघि बढाउन समितिका सभापतिको चासो पनि पर्याप्त देखिएको छैन। उनले त्यसप्रति ध्यानाकर्षण गराउँदै गम्भीरता पूर्वक पहल गर्न आग्रह गरे।
संघीय प्रहरी विधेयकलाई समेट्ने ढंगले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरू पनि सँगसँगै ल्याउनुपर्ने सुझाव उनले दिए। त्यस्तै, प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेत समेट्ने कानुनी ढाँचा आवश्यक रहेको धारणा व्यक्त गरे।
वर्तमान समय डिजिटल युग भएको उल्लेख गर्दै उनले प्रस्तावित विधेयकहरू प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। प्रदेशहरूले आफ्ना प्रहरी विधेयक अगाडि बढाइसकेको सन्दर्भ दिँदै संघस्तरमा पनि अब ढिलाइ नगरी कार्यतालिकासहित विधेयक अघि बढाउनुपर्ने उनले औँल्याए।